बिहेको मुस्किलको कथामा बेहुली फ्रम मेघौली

काठमाडौं ।

विजया दशमीको अवसरमा आगामी १७ गते घटस्थापनाको दिन रिलिजमा आउने फिल्म बेहुली फ्रम मेघौलीको ट्रेलर हालै राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

निश्चल बस्नेत र स्वस्तिमा खड्का दम्पतीको शीर्ष भूमिका रहेको फिल्मको ट्रेलरले निश्चित उमेर पार गरिसेकपछि छोरीलाई योग्य वर पाउन हुने मुस्किलको कथा पेस गरेको छ। ट्रेलरले फिल्मको कथावस्तु, द्वन्द्व र चरित्र चित्रणबारे प्रष्ट पारेको छ।

फिल्मको ट्रेलरको कथाअनुसार भ्रामरी दशाको कारण परिवार छोरीको विवाह ३० वर्षको उमेरभित्रै गर्नुपर्ने दबाबमा हुन्छ। योग्य वर पाउन परिवार र युवतीले गरेको संघर्ष ट्रेलरमा समेटिएको छ।

सोसल ड्रामाको फिल्ममा निश्चल र स्वस्तिमाका साथमा विजय बराल, बसुन्धरा भुषाल, रक्षा थापा, लोकेन्द्र लेखक, आमिर गौतम, सिरु विष्ट, सिम्रन खड्का, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मीलगायतले अभिनय गरेका छन्।

साजन काफ्ले र आकाश बरालद्वारा संयुक्तरूपमा निर्देशित फिल्ममा लेखन पनि उनीहरूकै छ भने संगीत जयन जे वाइवा, स्वर कालिप्रसाद बासकोटा, कुशल पोखरेल, इन्द्रकला राई र बबिना किराँती, छायांकन निर्देशन नरेन्द्र मैनाली र सम्पादन निमेश श्रेष्ठको रहेको छ। फिल्म ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्स्को ब्यानरमा निश्चल बस्नेत र स्वस्तिमा खड्काले निर्माण गरेका हुन्।

Source : https://newsofnepal.com/2024/09/22/669185/