राउटे समुदाय धुमधामले मनाउँदै छ यो दसैं
दैलेख । ३१ भदौमा राउटे युवा २२ वर्षीय वृषबहादुर शाहीको निधन भएपछि गुराँस गाउँपालिका–१ सिमेलसाललाई ‘मुकाम’ बनाउँदै आएका राउटेहरू यस वर्ष दसैं कसरी मनाउने भनेर ठूलो चिन्तामा थिए । कारण हो, यस समुदायका कुनै सदस्यको मृत्यु भएमा काजकिरियालगत्तै बसाइँ सार्ने परम्परा र आर्थिक अभाव ।
वृषबहादुरको निधनपछि सिमेलसाल बस्दै आएका राउटेहरू यतिबेला सुर्खेत झरेका छन् । १ सय ३४ जना राउटेहरू अहिले सुर्खेतको बराहताल गाउँपालिका–७ को कल्यानकाँधलाई मुकाम बनाएर बसिरहेका छन् । नयाँ ठाउँ, नयाँ परिवेश र आर्थिक समस्याका कारण उनीहरूलाई दसैं कसरी मनाउने भन्ने ठूलो चिन्ता थियो । तर, समयमै सामाजिक सुरक्षा भत्ता वितरण गरिएकाले राउटे समुदाय अहिले कम्ती खुसी छैनन् ।
गुराँस गाउँपालिकाले दसंैअगावै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि राउटे समुदाय औधी खुसी भएका हुन् । कुकाठ पनि नपाइने र समयको पनि अभाव भएकाले दसैंका लागि के गर्ने भन्ने चिन्ता उनीहरूमा थियो । ‘पालिकाले हाम्रो समस्या बुझेर दसंैअगावै भत्ता दिँदा हामी खुसी भएका छौं,’ मुखिया डिलबहादुर शाहीले भने ।
समयमै पालिकाले भत्ता दिएकामा राउटे समुदायका अर्का मुखिया सूर्यनारायण शाहीले गाउँपालिकाका कर्मचारीलाई समेत धन्यबाद दिए ।
‘दसैं कसरी मानौंला भनेर मेरो जनताले शोक मान्याँको थियो त, तपाईं (कर्मचारी)ले यो वर्ष त समयमै भत्ता ल्याएकामा मेरो जनता खुसी भयाँको तपाईंलाई धन्यबाद भनेको छ त,’ कहिल्यै नमाझेका पहेला दाँत देखाउँदै मुखिया सूर्यनारायणले आफ्नै लवजमा भने । सामाजिक सुरक्षा भत्तासँगै राउटे समुदायका सबै सदस्यलाई पालिकाले परिचयपत्रसमेत वितरण गरेको छ ।
‘आर्थिक अभावले दसैं कसरी मान्ने भनेर चिन्ता लागेको थियो, सरकारले बेलैमा भत्ता दियो, अब दसंै खुसीका साथ मनाउँछौं,’ राउटे समुदायकी महिला दुनी शाहीले भनिन्, ‘हामी भर्खर बसाइँ सरेर आएका हौं, यहाँ कुकाठ पनि छैन, हाम्रो त कुकाठबाट कोशी आरी बनाउने मान्छे पनि छैन, आफन्तले बनाएर बिक्री गर्न गाउँमा जान्थ्यौं, समयमै सरकारले हाम्रो भत्ता पठायो, हामी खुसी भएका छौं ।’
राउटे बस्तीमा यतिबेला दसैंको रौनकताले निकै छोएको छ । बस्ती’roundको सरसफाइमा समुदाय लागिपरेका छन् । बालबालिकालाई आवतजावत सजिलोका लागि बाटो बनाउन थालेका छन् । रातो माटो र गोबरले लिपपोत गरेर त्रिपालभित्र जमिन चिप्लो र चिटिक्क पारेका छन् । प्रत्येक घरधुरीमा दुईदेखि तीनवटा खसी बाख्रा गाउँबाट खोजेर बस्तीमा ल्याइसकेका छन्
दसैं मनाउनका लागि सबैभन्दा बढी चिन्ता विधुवा महिलालाई हुने गरेको सुना शाहीले बताइन् । ‘अरूका लोग्न्या छन्, हाम्रा कोही छैनन्, गाउँमा दसैंको जोहोका लागि आफंै जानुपर्छ, महिलाहरूले काठका भाँडाकुँडा बनाउनुहुँदैन भन्ने पुरानो चलन भएकाले बनाउन आउँदैन, दसैंमा छोराछोरीलाई के खुवाउने भन्ने चिन्ता थियो, भत्ता आएपछि चिन्ता हट्यो,’ उनले भनिन् ।
राउटे बस्तीमा यतिबेला दसैंको रौनकताले निकै छोएको छ । बस्ती’roundको सरसफाइमा समुदाय लागिपरेका छन् । बालबालिकालाई आवतजावत सजिलोका लागि बाटो बनाउन थालेका छन् । रातो माटो र गोबरले लिपपोत गरेर त्रिपालभित्र जमिन चिप्लो र चिटिक्क पारेका छन् । प्रत्येक घरधुरीमा दुईदेखि तीनवटा खसी बाख्रा गाउँबाट खोजेर बस्तीमा ल्याइसकेका छन् ।
बस्तीमा कुखुरा बाख्रा देखिँदैन थिए, तर दसैं नजिकिँदै गर्दा बस्तीमा बगालझैं देखिने गरेको राउटे परियोजना सोसेकका कर्मचारी लालबहादुर खत्रीले जानकारी दिए । दसैंका लागि भनेर प्रत्येक घरधुरीले गाउँबाट कसैले उधारो र कसैले पैसा तिरेर खसी बाख्रा र कुखुरा खरिद गरिसकेका छन् । प्रत्येक पुरुषका लागि छुट्टै कुखुरा पनि ।
वनमा सिकार गर्न गएका बेला चोटपटक नलागोस् भनेर पुरुषका नाममा देउता पुज्न कुखुरा ल्याएको राउटे युवा प्रकाश शाहीले बताए । भत्ता पाएपछि सबै परिवारमा खुसी ल्याएको प्रकाशको भनाइ छ । ‘हामीलाई त त्यति अप्ठ्यारो थिएन, विधुवा महिलालाई गाह्रो थियो, भत्ता पाएपछि सजिलो भयो, अब यसपालि दसंै खुसीका साथ मनाउने भयौं,’ उनले थपे ।
आफूलाई वनको राजा भन्न रुचाउने दक्षिण एसियाको एक मात्र भ्रमणशील राउटे समुदायलाई सोमबार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदाय बसोबास गरिरहेको सुर्खेतको बराहताल गाउँपालिका–७ को कल्यानकाँधमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
राउटे समुदायका १ सय ३७ जनालाई सामाजिक सुरक्षा रकम वितरण गरिएको गुराँस गाउँपालिका पञ्जीकरण शाखाका कर्मचारी चेतन खड्काले बताए । उनले भने, ‘१ सय ३५ जनालाई ३ महिनाको ४ हजारका दरले, एक जनालाई २ महिनाको, एक जनालाई १ महिना गरी १६ लाख ३२ हजार रुपैयाँ वितरण गरेका हौं, साउन महिनामा १ जना, भदौमा १ र असोजमा १ जना गरी यस समुदायमा तीन महिनामा तीन जनाको मृत्यु भएकाले जुन महिनामा मृत्यु भयो, त्यही महिनामा लगत कट्टा गरिएकाले मृतकले पाउने रकम परिवारलाई दिइएको छ ।’
राउटे समुदाय गुराँस गाउँपालिका–८ का नागरिक हुन् । २०७५ सालमा गुराँस गाउँपालिकाले परिचयपत्र उपलब्ध गराएकाले सामाजिक सुरक्षाको रकम जुन ठाउँमा बसोबास गरे पनि गुराँस गाउँपालिकाले नै वितरण गर्दै आएको छ ।
The post राउटे समुदाय धुमधामले मनाउँदै छ यो दसैं appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/102094/