सुनको भाउ, माग र असर

केही समययतादेखि नेपाली बजारमा सुनको भाउ आकाशिँदै गएको छ। मूल्यवृद्धि हुँदै जाँदा एक वर्षको अवधिमा प्रतितोला ५० हजार रुपियाँको हाराहारीमा बढेर अहिले प्रतितोला १ लाख ५५ हजार रुपियाँको हाराहारीमा पुगेको छ। सुनको मूल्यमा उच्च वृद्धि हुँदा नेपालमा सामाजिक, आर्थिक एवम् सांस्कृतिक जीवन नै प्रभावित भएको छ।

अनौपचारिक तथ्यांकअनुसार नेपालमा दैनिक ३० किलोभन्दा बढी सुनको कारोबार हुने गरेको छ। यद्यपि, मूल्य उच्च हुँदा सुनको कारोबार केही प्रभावित भए पनि नेपालको सामाजिक तथा सांस्कृतिक कारणहरूले गर्दा यहाँ सुनको माग धेरै हुन्छ। विवाह, चाडपर्व र अन्य विशेष अवसरमा सुनको प्रयोगलाई शुभ मानिन्छ। तर, नेपाल आफैँले सुन उत्पादन नगर्ने भएकाले सुन वैदेशिक बजारबाट आयात गर्नुपर्छ।

जब अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्छ, नेपालले सुन आयात गर्दा बढी पैसा खर्च गर्नुपर्ने हुन्छ । यसले देशको व्यापार घाटालाई बढाउँछ, किनकि सुनको आयातमा लाग्ने खर्च बढी हुन्छ। यसले निर्यातको परिमाण र आम्दानी स्थिर रहन सक्छ। व्यापार घाटा बढ्दै जाँदा विदेशी मुद्रा सञ्चितीमा कमी आउन सक्छ। अन्ततः यसले अर्थतन्त्रलाई कमजोर बनाउँछ।


नेपालमा ठूला चाडपर्व र उत्सवहरूको सिजन शुरू हुनै लाग्दा सुनको मूल्यवृद्धिको मूल्यमा भएको परिवर्तनले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा प्रभाव पार्न सक्छ । सामाजिक मान्यताका कारण भाउ बढे पनि मानिसले सुनमा लगानी गर्न रुचाउँछन्, किनकि सुनलाई सुरक्षित र स्थिर लगानीको रूपमा हेरिन्छ । तर, जब मानिसले सुनमा बढी लगानी गर्छन् अन्य आर्थिक क्षेत्रमा लगानीको कमी हुन सक्छ । यो प्रवृत्तिले बैंकिङ प्रणालीमा तरलताको अभाव हुन सक्छ । यसले गर्दा बैंकहरूले कर्जाका दरहरू बढाउन सक्छन्।

यसले साना तथा मझौला उद्यमीहरूलाई समस्या पर्न सक्छ, उनीहरूले उच्च ब्याजदरमा ऋण लिनुपर्ने हुन्छ । सुनको मूल्य वृद्धि हुँदा यसको प्रभाव बजारको महँगाइमा पनि पर्न सक्छ । सुनको आयात महँगो हुँदा बजारमा सुनको मूल्य अझै बढ्छ र यो महँगाइ सूचकांकमा समावेश गरिने अन्य वस्तुको मूल्यलाई पनि प्रभावित गर्न सक्छ । महँगी बढ्दा, निम्न र मध्यम आय भएका मानिसको क्रयशक्ति घट्न सक्छ, जसले गरिबीको दर बढाउन मद्दत गर्छ ।

त्यस्तै बढ्दो सुन आयातले व्यापार घाटामा वृद्धि हुने, विवाह खर्च बढाउँदा मुद्रास्फीति बढ्ने, विदेशी मुद्रा सञ्चिती घटाउने, राष्ट्रको मुद्रा अवमूल्यन हुने जोखिम बढाउने, वित्तीय प्रणालीमा असन्तुलन निम्त्याउने तथा बैंकिङ प्रणालीमा ऋणको माग बढ्न जाँदा ब्याजदर वृद्धिजस्ता परिवर्तन ल्याउन सक्छ । तसर्थ, नेपालको अर्थतन्त्रमा सुनको भाउ वृद्धि हुँदा गम्भीर प्रभाव पार्ने कुरामा दुई मत रहेन। त्यो प्रभावलाई न्यूनीकरण गर्न सरकारले दीर्घकालीन उपाय अपनाउनुपर्ने देखिन्छ । यसका लागि सुनको आयातलाई सीमित गर्नुपर्ने हुन्छ।

जसका लागि सरकारले सुन आयातमा प्रतिबन्ध लगाउने वा उच्च कर लगाउने नीति अवलम्बन गर्न सक्छ, डिजिटल सुनको अवधारणा प्रवद्र्धन गरी नागरिकलाई भौतिक सुनभन्दा डिजिटल सुनमा लगानी गर्न प्रेरित गर्न सकिन्छ, स्वदेशी उत्पादन प्रोत्साहन, सुनको आवश्यकता र यसको आयातले पार्ने दीर्घकालीन असरबारे जनचेतना अभिवृद्धि गर्न सके, पुरानो सुनको पुनप्र्रयोग गर्नेजस्ता चेतनामूलक कार्यबाट सुनको अनावश्यक खपतमा कमी ल्याउन सकिन्छ।

त्यस्तै सुनमा गरिने लगानीलाई घटाउन सरकारले नागरिकलाई अन्य वैकल्पिक लगानीका अवसरहरू जस्तै– शेयर बजार, सरकारी बन्ड आदितर्फ आकर्षित गरेको अवस्थामा सुनमा हुने लगानीलाई प्रतिफलमूलक बनाउन सकिन्छ । त्यसका निम्ति सरकारले नीति र जनताले नियतमार्फत अगाडि बढ्नुपर्ने अवस्था छ ।

Source : https://newsofnepal.com/2024/09/22/669188/