हवाई भाडा मनोमानी बृद्धि गर्नेलाई प्रधानमन्त्री ओलीकै संरक्षण: प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवार भूमिकाका कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त भईरहेको बताएका छन् । हालै हवाई भाडामा भएको मनपरी बृद्धिले अर्थतन्त्रमा ठुलो नाकारात्मक असर पर्ने उनले जनाएका छन् ।
नेपालको विकास र अर्थतन्त्रको मुख्य आधार मानिएको पर्यटन क्षेत्र यतिवेला ओली सरकारले ध्वस्त बनाएको गम्भिर आरोप साहले लगाए । सरकारले कमिश खानैका लागि हवाई भाडामा मनपरी बृद्धि भए पनि मौन बस्नुले गम्भिर प्रश्न आम जनताले उठाईरहेको उनले जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुक पेजमा आजपा अध्यक्ष साहले लेखेका छन्, ‘नेपालमा जे पनि गर्ने छुटले अराजकता एवं अन्यौलता बढ़दैछ । सरकारको गैरजिम्मेवार भुमिकाले सिंगै पर्यटन क्षेत्र अस्तव्यस्त भई रहेको सन्दर्भमा हवाई भाड़ामा भएको मनपरी वृद्धले अर्थतन्त्रमा ठुलो नकारात्मक असर पर्ने पक्का छ ।’
अन्तराष्ट्रिय उड़ानको हवाई भाड़ामा भएको मनपरी वृद्धिलाई सरकारले नियन्त्रण गर्नुको सट्टा अल्टै जनतालाई भ्रमित गरिरहेको आरोप उनले लगाएका छन् । कमिशनको चक्करमा जे पनि गर्ने ओली सरकारको कुकर्मले आज बिदेश जाने नेपाली श्रमिकहरू ठुलो आर्थिक मारमा परेको साहले जनाएका छन् ।
‘अहिले पर्यटन क्षेत्र मरणासन्न अवस्थामा छ भन्दा अतियुक्ति नहोला । राज्य नियन्त्रित सिण्डिकेट र सरकारमा भएकाहरुकै हालिमुहाली र ब्रम्हलुटकै कारण यो क्षेत्रले विगत लामो समयदेखि बदनामी र बेथिति भोग्नु परेको छ । अहिले हवाई भाडादर दोब्बर तेब्बर बनाईएको समाचार छन् । नेपाली श्रमिकहरु हवाई भाडादरमा भएको मनोमानी वृद्धिको कारण ठूलो मारमा परेका छन् । तर, यो सरकारलाई यस’boutमा कुनै चिन्ता र चासो नै छैन्’ आजपा अध्यक्ष साहले भने ।
त्रिभुवन ईन्टेरनेश्नल एयरपोर्टको स्तरोन्नतीको लागि दैनिक १० घण्टा एयरपोर्ट बन्द गर्ने बहानामा फेरि नेपाली श्रमिकहरु र विदेशी पर्यटकहरुमाथि हवाई भाडा बढाएर लुट्ने काम भईराख्दा समेत सरकार रमिते बनेको आरोप साहले लगाएका छन् । ‘चौतर्फी आलोचना हुँदासमेत यो सरकारलाई छोएन । विश्वमा कहीँ नभएको हवाई आतंक नेपालमा मात्रै किन बारम्बार दोहोरिने गरेको छ ? यो प्रश्नको विषय हो । नियमनकारी निकाय किन सुतेर बसेका छन् ? कतै हवाई क्षेत्रमा भएको लुटको अंश बालुवाटार र सत्ताको चाबी लिएकाहरुको घरसम्म त पुगेको छैन् ? अब यो विषय शंकाको घेराभित्र परिसकेको छ’ प्रश्न गर्दै उनले भनेका छन् ।
हिजो नेपालबाट दिल्लीको उड़ान गर्दा १२ देखी १४ हजार लागने हवाई भाड़ा आज ६० देखी ६५ हजार भएकोछ । कतारको ३० देखी ३५ हजारबाट एक लाख भएकोछ । दुबईको ३५ देखी ४० हजारबाट १ लाख १५ देखी २० हजारसम्म पुग्दा समेत सरकार किन मनोमानी हवाई भाडा बृद्धि रोक्न नसकेको भन्दै साहले प्रश्न गरेका छन् । हवाई भाड़ामा भएको मनपरी वृद्धि रोकन सरकारी निकायको अस्वाभाविक भुमिकाको विरोध गर्दै हवाई भाड़ा घटाउन चौतर्फÞी दवाव सृजना गर्न उनले आह्वान गरेका छन् ।
‘कोभिडको कहर होस वा मुलुक विपत्तिमा परेर सडकमार्ग अवरुद्ध भएको बेलामा नै किन नहोस या महाभूकम्पको बेलामा होस नेपाली जनताले हवाई यात्रामा कठिनाई र महँगीको सामना गर्नुपरेको इतिहास छ । कोरोनाको कहरमा चाटर्ड फ्लाईटमा लुट मच्चाउने काम भयो । त्यतिवेला आफ्नो देश फर्कने नेपालीहरुमाथि विशेषगरि खाँडी मुलुकमा श्रमको लागि गएका नेपालीहरुलाई दिनदाहाडै लुट्ने काम भएको थियो । त्यो क्रम अहिलेसम्मपनि जारी छ’ उनले भने ।
उनले अगाडी थपे, ‘अहिलेपनि हवाई भाडादर वृद्धिले बालुवाटार, बालकोट र बुढानिलकण्ठलाई छोएको छैन् । नेताजीहरुका त्यी दरबारमा हाईसञ्चो छ । सरकार टिकाउने नाममा उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रहसन जारी छ । तर, कांग्रेस र एमालेलाई यो हवाई भाडामा भएको ज्यादती र मूल्यवृद्धिको आतंकले छोएको छैन् र छुँदैपनि होला । उहाँहरुको आत्मामा व्यापारीले डेरा जमाएका छन् । जनताको सास्तीलाई बेवास्ता गरिएको छ ।’
सरकारलाई हवाई क्षेत्रको विकृति हटाउने विषयमा गम्भीर बन्न उनले आग्रह गरेका छन् । हवाई भाडादर महँगो बनाउने एयरलाईन्सहरुलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै आजपा अध्यक्ष साहले पछिल्लो समय हवाई भाडा नियन्त्रणको लागि सरोकारवाला निकायबीच भएको पाँच बुँदे सहमतिको पूर्ण पालना गर्नुपर्ने बताए । अहिले नेपालीहरु चाडपर्व सकेर आफ्नो श्रम गन्तव्यमा जाने सिजन छ । साथै, विदेशी पर्यटकहरुपनि नेपाल घुम्नको लागि आउने सिजन हो । यस्तो पर्यटनको पिक–आवरमा हवाई भाडा बढाउने कुरा कुनैपनि हिसाबले स्विकार्य हुँदैन् । सरकारले बेलैमा सोच्नुपर्ने उनले बताए ।
The post हवाई भाडा मनोमानी बृद्धि गर्नेलाई प्रधानमन्त्री ओलीकै संरक्षण: प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/103768/