टाउन हलमा ट्रम्प झण्डै ३० मिनेट नाचेपछि कमला ह्यारिसको व्यंग्य : ‘आशा छ, उनी ठीकै छन्’

अमेरिकी राष्ट्रपति उम्मेदबार डोनाल्ड जे ट्रम्प पेन्सल्भेनियामाको एक टाउन हलमा सोमबार राति करिब ३० मिनेट नाचेका छन् । ट्रम्पको चुनावी कार्यक्रम सोमबार अप्रत्याशित संगीत कन्सर्टमा परिणत भएको थियो । त्यहाँ ट्रम्पले आफ्नो व्यक्तिगत प्लेलिस्ट बजाएर भीडको अगाडि नाच्दै कार्यक्रमको समापन गरेका थिए ।

फिलाडेल्फिया नजिकैको र्‍यालीमा, अर्थव्यवस्था र जीवनयापनको लागतका बारेमा समर्थकहरूको प्रश्नको जवाफ दिएपछि ट्रम्पले ‘अब कुनै प्रश्न नगरौं, आउनुहोस् संगीत सुनौं’ भन्दै झण्डै ३० मिनेट नाचेका थिए । उनी स्टेजमा उभिएर गीत सुन्दै बिस्तारै नाचिरहेका थिए।

ट्रम्प सोमबार पेन्सिलभेनियाको फेयरग्राउन्डमा टाउन हलमा दर्शकहरूको प्रश्न लिँदै। त्यसपछि उनी नाच्न थालेका थिए ।  (जिम वाटसन /एएफपी )

ट्रम्पले वर्षौंदेखि र्‍यालीहरूको अन्त्यमा एउटा संक्षिप्त नृत्य गर्दै आएका छन् । तर सोमबार राती भने उनी नौवटा गीतहरू सुनेर नाचे । बिस्तारै हल्लिदै र भीडमा हेरेर उपस्थितहरूलाई औंल्याउँदै नाच्ने ट्रम्पले सोमबारभने यसलाई अझ विस्तार गरेका थिए ।

टाउनहलमा दुईजना व्यक्तिलाई स्वास्थ्य समस्या देखिएपछि ट्रम्पले प्रश्नोत्तर रोकेर नाचगान सुरु गरेका थिए । स्वास्थ्य समस्या देखिएका व्यक्तिलाई स्ट्रचरमा कार्यक्रमस्थलबाट निकालिएको थियो ।

यसैबीच राष्ट्रपति उम्मेदबार कमला ह्यारिसले विचित्रको अचानक संगीत सत्र पछि ट्रम्पको मानसिक अवस्थामाथि प्रश्न गर्दै ट्रम्पको खिल्ली उडाएकी छिन् । उनले व्यंग्य गर्दै भनिन् – ‘आशा छ उनी ठीकै छन् ।’

ह्यारिसको अभियानले ट्रम्पलाई उनको स्वास्थ्य र मानसिक स्थिरताबारे आक्रामक रूपमा चुनौती दिन थालेको छ। सोमबारको यो कार्यक्रममा ट्रम्प कतै हराएको र अन्यौलग्रस्त भएजस्तो देखिएको ह्यारिसको अभियानको भनाई छ । पोलले ह्यारिस र ट्रम्पबीचको चुनाव सात ब्याटलग्राउण्ड राज्यहरूमा निर्भर हुन सक्ने र जहाँ मतको मार्जिन १० हजारभन्दा कम हुनसक्ने देखाएको छ ।

Source : https://www.khasokhas.com/210803