ट्रम्पद्धारा नयाँ अटर्नी जनरलमा बोंडीको नाम प्रस्ताव , गेट्सले नाम फिर्ता लिए

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पाम बोंडीलाई अटर्नी जनरल ( महान्यायधिवक्ता ) बनाउने घोषणा गर्नुभएको छ । पाम बोंडी फ्लोरिडाको पूर्व अटर्नी जनरल हुनुहुन्छ । ट्रम्पकी कानूनी सल्लाहकारका रूपमा पनि उहाँले काम गरिसक्नु भएको छ ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेख्नुभएको छ : फ्लोरिडाको पूर्व अटर्नी जनरल पाम बोंडी अमेरिकाको अर्को अटर्नी जनरल हुनेछिन् । पाम विगत २० वर्षदेखि अभियोजकको रूपमा सक्रिय रहेकी छन् र हिंसात्मक अपराधीहरूलाई लिएर निकै कडा छिन् । फ्लोरिडाका सडकहरूलाई सुरक्षित बनाउने कार्यमा उनको महत्त्वपूर्ण भूमिका छ ।

फ्लोरिडाकी पहिलो महिला अटर्नी जनरलका रूपमा पामले लागुऔषध तस्करीविरुद्ध उल्लेखनीय काम गर्नुभएको थियो ।

पाम बोंडीको नाम घोषणा भएसँगै अब कट्टर रिपब्लिकन नेता म्याट गेट्सको विषयमा भइरहेको आलोचनाबाट ध्यान हट्ने बताइएको छ । बोंडीको रेकर्ड राम्रो रहेकोले उहाँ ट्रम्पकी विश्वासपात्र सहयोगीका रूपमा पनि चिनिनुहुन्छ ।

यसअघि कट्टर रिपब्लिकन नेता म्याट गेट्सलाई अमेरिकी अटर्नी जनरल बनाउने ट्रम्पले घोषणा गर्नुभएको थियो । तर, घोषणा भएको आठ दिनपछि गेट्सले आफ्नो नाम फिर्ता लिनु भएको हो ।

म्याट गेट्सको नाममा रिपब्लिकन पार्टीभित्र नै विरोध सुरु भएको थियो । डेमोक्रेटिक पार्टीका सदस्यहरूले त नाम घोषणा भएदेखि नै यसबारे प्रश्न उठाएका थिए।
गेट्सले गएको हप्ता मात्रै प्रतिनिधि सभाबाट राजीनामा दिनुभएको थियो ।

इथिक्स कमिटीले गेट्ससँग सम्बन्धित एक मामिलाको अनुसन्धान गरिरहेको छ । उहाँमाथि १७ वर्षकी नाबालिगसँग यौन सम्बन्ध राखेको आरोप छ । तर गेट्सले यी आरोपलाई अस्वीकार गरिरहनुभएको छ ।

Source : https://www.khasokhas.com/211767