डाक्नेश्वरीमा मदिरा बिक्री बितरण र सेवन निषेध
सप्तरी । निर्वाचन आचार संहिता लागु भइसकेको अवस्थामा सप्तरीको डाक्नेश्वरी नगरपालिका क्षेत्रमा मदिराजन्य पदार्थ बिक्रि बितरण र सेवन निषेध गरिएको छ ।
मंसिर १६ गते उक्त पालिकाको १ र ४ गरी दुई वडामा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएको छ । स्थानीय प्रशासनले सूचना जारि गर्दै निर्वाचन सुरक्षाको सन्दर्भमा मदिराजन्य पदार्थ बिक्रि बितरण तथा सेवनमा रोक लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले उक्त निर्णय मतगणना कार्य सम्पन्न नभएसम्मको अवधी भर लागु हुने छ । जारी सुचनाको अवज्ञा गर्नेलाई कानुन बमोजिम कारवाही हुने उनको भनाई छ ।
यसैगरि मंसिर १५ गते राती १२ बजेदेखी निर्वाचन सम्पन्न नभएसम्म उक्त नगरपालिका क्षेत्रमा अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन अनुमति बिना आवतजावतमा रोक लगाइएको छ । साथै स्थानीय प्रशासनले कोही कसैले निर्वाचन कानुन र निर्वाचन आचारसंहिता विपरीत कुनै पनि कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने जनाएको छ ।
यता विभिन्न सूचना र सुरक्षा विश्लेषणपछि आवश्यक सुरक्षा प्रवन्ध मिलाउन उक्त निर्वाचन स्थलमा २ सय ५० नेपाल प्रहरी परिचालन भएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । “आवश्यक उपकरण र हतियारसहित निर्वाचन सुरक्षाका लागि २ सय ५० प्रहरी परिचालन गरिएको छ, प्रहरी उपरिक्षक ढकालले भने “आवश्यक परे जिल्लाबाट थप प्रहरी परिचालन गरिनेछ ।”
यसबाहेक सशस्त्र प्रहरी र सेनाले समेत निर्वाचन सुरक्षा प्रबन्धमा सघाउने उनको भनाई छ । मतदाताहरु ढुक्क भएर मतदानका लागि आउने वातावरणमा कुनै कसर नरहने उनले बताए ।
उपनिर्वाचनका लागि उक्त पालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भई मतदाता शिक्षा कार्यकर्ताबाट मतदातालाई उपनिर्वाचन, यसको महत्व र मतदान गर्ने तौरतरिका ’bout ज्ञान बाँड्ने काम समेत थालिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन हुने ती दुबै पदमा यसअघि काँग्रेसका क्रमशः प्रितमलाल चौधरी र हरिप्रसाद राय चुनाव जितेका थिए । चौधरी र राय दुबैको निधन भएका कारण रिक्त हुन गएको पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुन लागेको छ ।
उपनिर्वाचन हुने डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ मा २ हजार ६ सय ३५ र वडा नं. ४ मा १ हजार २ सय ८१ मतदाता छन् । मतदानका लागि तीन मतदान स्थल र पाँच मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिए ।
दुई वडा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा विभिन्न दलका १४ र १ स्वतन्त्र गरी कुल १५ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।
The post डाक्नेश्वरीमा मदिरा बिक्री बितरण र सेवन निषेध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104309/