बसुन्धरा भुसाल: फिल्म सुटिङ हेर्न जाँदा कलाकारमा चयन

काठमाडौं । चरित्र अभिनेत्री बसुन्धरा भुसालले चलचित्र पहिलो नेपाली चलचित्र ‘आमा’बाट अभिनय यात्रा सुरु गरेकी हुन् । आमामा काम गर्न अरु कलाकारले जस्ते यिनले अडिसन दिनु परेन । बरु यो चलचित्रको छायाँकन हेर्न जाँदा आफु यसमा पहिलो दिनमै चयन भएको भुसालले राजधानीसँग खुलासा गरेकी छिन् ।

राम्रो अभिनयले घडी उपहार

यो चलचित्रको पहिलो दिनको छायाँकन काठमाडौंको चौभारमा राखिएको थियो । त्यतिबेला बसुन्धरा भुसाल नेपाल प्रज्ञा प्रतिष्ठानमा नाटकको लागि अभिनय सिक्दै थिईन् । सोही क्रममा नाचघरमा कलाकार भुवन चन्दलाई भेट्न जाँदा भुवनले बसुन्धरालाई भोलीपल्ट आफ्नो चलचित्र आमाको छायाँकन हेर्न जान प्रस्ताव राखिन ।

नेपाली चलचित्रको छायाँकन भनेपछि बसुन्धरा पनि दंग परिन् । अनि उनी भोलीपल्ट बिहानै भुवनसँगै सुटिङ युनिटको गाडीमा चढेर चौभार पुगिन् । बसुन्धराको भनाईमा संजोगले सो चलचित्रमा भुवनको बहिनीको रुपमा एउटा बाल कलाकार चाहिएको थियो । त्यतिबेला बसुन्धरा १४ वर्षकी थिइन् । छायांकन स्थलमा गायक संगीतकार तथा अभिनेता शिबशंकर मानन्धर, अभिनेत्री भुवन चन्द र अरु कोसर कलाकार थिए ।

बसुन्धराको चञ्चले बानी देखेर निर्देशक हिरा सिंह खत्रीले उनलाई बोलाए । त्यो पल सम्झँदै बसुन्धराले भनिन्,‘त्यतिबेला उहाँले मलाई फिल्ममे काम करोगी भनेर हिन्दमिा सोध्नु भयो । अनि मैले पनि काम देगा तो करेगा भनेर हिन्दीमै जवाफ दिएँ ।’ त्यसपछि आफुलाई भुवनको बहिनीको भूमिकामा चयन गरिएको उनले बताईन्, ‘यसरी चलचित्रको छायाँकन हेर्न गएको पहिलो दिनमै मलाई हिरा सिंह डाईरेक्टर साबले आमा चलचित्रको गरौंला हामी सृजना गीतमा अभिनय गराउनु भयो ।’

चलचित्र आमामा अभिनय गर्ने क्रममा पहिलो टेककै राम्रो अभिनय गरेर उनले टेक ओके बनाईन् । त्यसपछि निर्देशक खत्रीले उनलाई स्याबास बेटे भन्दै अभिनयको खुलेर प्रसँसा गरे । उनले बेलुका घरमा पुगेर बुबा आमालाई यो कुरा सुनाउँदा बुबा आमा पनि निकै खुसी भए । उनलाई चलचित्र आमामा काम गर्न अुनमति दिए । त्यसपछि उनले ढुक्कले यो चलचित्रमा काम सुरु गरिन् ।

चोभारमा यो चलचित्रको गीतको छायाँकन सकेपछि बाँकी दृष्यको छायाँकन गर्न युनिट काठमाडौंको ककनी गयो । त्यहाँ पनि बसुन्धरा गईन्,‘ककनीमा गाउँका आउटडोर सुटिङ केही दिन गरेपछि हामी इन्टडोरको लागि कलकात्ता जानुपर्ने भयो । भारत जानको लागि पासपोर्ट चाहिन्छ भनिएपछि बुबाले पार्सपोर्ट बनाएर ल्याईदिनु भयो । भुवन दिदी, हरिप्रसाद रिमाल दाई, शिबशँकर दाईसहित सबै कलाकारसँग म पनि कलकत्ता पुगँे ।’

कलकत्ताको स्टुडियोको भित्र ककनी गाउँका विभिन्न घरको सेट दुरुस्त देख्दा बसुन्धरा तिन छक परिन्,‘लु कहाँबाट यहाँ ककनीको गाउँ आयो भनेर मैले अचम्म मान्दै सोध्दा डाईरेक्टर साब र अरु कलाकार हाँसे । अनि यहाँ सुटिङको लागि ककनीको घरको इन्डोर सेट बनाएको भनेर डाईरेक्टर साबले मलाई जानकारी गराउनु भयो ।’

यो चलचित्रमा हँसाउनु पर्ने भन्दै उनको केही सम्बाद हास्य भावमा परिवर्तन गरियो,‘डाईरेक्टर साबले नै एसटा थेगो चाहिन्छ भनेपछि मैले ए रात्तै भन्ने थेगो बनाएर सम्बाद बोल्दा सबै हास्नु भयो । यो सम्बाद पनि पहिलो टेकमै ओके भएपछि डाईरेक्टर साबले मलाई विशेष उपहार दिन्छु भनेर घोषणा पनि गर्नु भयो ।’

पहिलो दिन छायाँकन सकेर बेलुका कलकत्ताको बजार घुम्ने क्रममा निर्देशक हिरासिंह खत्रीले छोरी तिमीलाई के उपहार दिउँ भनेर सोधे । त्यतिबेला बसुन्धराले ट्रेसा घडीको माग गरिन् । यो निकै चलेको र महँगो घडी थियो । निर्देशकले एक बचनमै त्यो घडी किनेर बसुन्धरालाई उपहार दिए । कलकत्त गाएको पहिलो दिन नै घडी उपहार पाएपछि यी कलाकार खुसीले गद्गद् भएकी थिईन्,‘डाईरेक्टर साहेबको छोरी थिएन । त्यसेले उहाँले मलाई कलाकारसँगै छोरीलाई जस्तै मायाँ गर्नु हुन्थ्यो ।’ निर्देशक खत्रीसँग काम गर्दा आफुले कहिल्यै पनि निर्देशकलाई गुनासो गर्ने ठाउँ नदिएको पनि यी अभिनेत्रीले बताईन् ।

यो चलचित्रमा काम गर्दा उनको दैनिक १० रुपैयाँ पारिश्रमिक तोलिएको थियो । कलकत्तामा एक महिना यो चलचित्रको छायाँकन गर्दा उनलाई पारिश्रमिक स्वरुप ३०० रुपैयाँ र बक्सिस स्वरुप अन्य रकम पनि दिईयो,‘त्यो बेला मैले आफु र परिवारलाई सपिङ गरेर प्रसस्त कपडा र अन्य सामाग्री ल्याएँ ।’ छोरीले चलचित्रमा काम गरेर आउने क्रममा आफुहरुलाई कपडा सहित विभिन्न सामान ल्याउँदा उनका बुबा आमा पनि त्यत्तिकै खुसी भएका थिए ।

यो चलचित्रको प्रिमियर शो आर्मी हेडक्वाटरमा राखिएको थियो । प्रिमियर शोमा तात्कालिन राजा महेन्द्र, राजपरिवार, मन्त्री, सचिब, सैनिक र प्रहरीको शिर्ष व्यक्तिसहित विभिन्न उच्च पदाधिकारी उपस्थित थिए,‘ए रात्तै भन्दै मैले जतिबेला सम्बाद बोल्दा पनि सबैजना हाँस्नु भयो । हलबाट निक्लेपछि ए रात्तै भन्दै सबैले मेरो अभिनयको प्रसँसा गर्नु भयो र मलाई हास्य कलाकारको रुपमा सम्बोधन गर्नु भयो ।’

यसरी पहिलो चलचित्रबाटै हास्य कलाकारको ट्याग लागेपछि आफुले लामो समयसम्म नेपाली चलचित्रमा हास्य अभिनेत्रीको भूमिका निर्वाह गरेको बसुन्धराले बताईन् । आजसम्म १८५ वटा ठुला साना चलचित्रमा काम गरिसकेकी बसुन्धरा आफुलाई अहिले पनि नक्कली र हास्य साम्राज्ञीको रुपमा दर्शकले सम्बोधन गर्दा अत्यन्त खुसी लाग्ने बताउँछिन्,‘जीवनमा मैले अहिलेसम्म कमाएको भनेकै दर्शकको मायाँ हो । त्यही मायाँले मलाई जहिले पनि काममा उर्जा मिल्छ ।’

The post बसुन्धरा भुसाल: फिल्म सुटिङ हेर्न जाँदा कलाकारमा चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102519/