बैंक खाता रोक्का गर्न राष्ट्र बैंकको अनुमति लिनु नपर्ने ! 

काठमाडौँ । अबदेखि बैंक तथा वित्तीय संस्थाहरुले कुनै व्यक्ति वा संस्थाको बैंक खाता रोक्का गर्दा राष्ट्र बैंकको अनुमति लिनु नपर्ने भएको छ । राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवा विनियमावली, २०८१ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

विनियमावलीमा गरिएको यस्तो संशोधनसँगै अब इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकको अनुमति नलिइ बैंक खाता रोक्का तथा फुकुवा गर्न सक्नेछन् । 

तर, बैंक खाता रोक्का तथा फुकुवा गरेकोबारे भने राष्ट्र बैंकलाई अनिवार्य जानकारी गराउनुपर्ने विनियमावलीमा उल्लेख गरिएको छ । ‘सम्बन्धित विशेष ऐनले तोकेको अधिकार प्रयोग गरी अख्तियारप्राप्त निकायले इजाजतपत्रप्राप्त संस्थामा गरेको पत्राचारबमोजिम सोझै खाता रोक्का वा फुकुवा गर्न यस व्यवस्थाले बाधा पर्ने छैन । त्यस्तो पत्राचारबमोजिम कुनै खाता रोक्का वा फुकुवा भएमा सोको
जानकारी इजाजतपत्रप्राप्त संस्थाले राष्ट्र बैंकलाई तत्काल उपलब्ध गराउनुपर्नेछ ।’, विनियमावलीमा भनिएको छ ।

अर्कोतर्फ भुलवश वा कुनै कसुर गरी कुनै व्यक्ति, फर्म, कम्पनी तथा संस्थाको खातामा रकम जम्मा गरिएको भन्ने इजाजतपत्रप्राप्त संस्थालाई लिखित/मौखिक जानकारी प्राप्त भएमा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले सो को यकिन गरी अल्पकालीन अवधिको लागि त्यस्तो खाता रोक्का गर्न सक्नेछन् । यसरी रोक्का राखेको खाता ४८ घण्टाभन्दा बढी अवधिको लागि रोक्का राख्न परेमा राष्ट्र बैङ्कमार्फत पुनः रोक्का गराउनुपर्ने पनि विनियमावलीमा उल्लेख छ । 

Source : https://arthasarokar.com/2024/10/nrb-156.html