महिला टी-२० विश्वकप : दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिज र न्यूजिल्याण्ड भिड्दै

काठमाडौं ।

महिला टी–२० विश्वकपको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ। यो खेल वेस्ट इन्डिज र न्यूजिल्याण्डबीच शारजाह क्रिकेट स्टेडियममा आज राति ७: ४५ बजेदेखि हुने छ।

यो दोस्रो सेमिफाइनलको विजेता टोलीले अक्टोबर २० मा दुबईमा हुने फाइनल खेलमा दक्षिण अफ्रिकाको सामना गर्ने छ। यस प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको छ। यदि दक्षिण अफ्रिकी टोलीले अक्टोबर २० मा हुने फाइनल खेल जित्यो भने त्यो देशको पहिलो आईसीसी उपाधि हुने छ। अष्ट्रेलियाली टोलीले आईसीसी महिला टी-२० विश्वकप ट्रफी सर्वाधिक ६ पटक जितेको थियो।

अस्ट्रेलिया २००९ पछि पहिलो पटक महिला टी-२० विश्वकपको फाइनल पुग्न सकेन। यस अघि वेस्ट इन्डिजले समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने न्यूजिल्यान्डले पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो। यस अघि आठ विश्वकपमा अस्ट्रेलियाले ६ तथा वेस्ट इन्डिज र इङल्याण्डले एक एक पटक महिला टी–२० विश्वकपको उपाधि जितेका छन्।

Source : https://newsofnepal.com/2024/10/18/673950/