राजनीतिसँगै विकासका लागि योगदान दिन कार्यकर्तालाई मुख्यमन्त्री कँडेलको आव्हान

 कालिकोट। 

 कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजनीतिसँगै विकासका समृद्धिका लागि योगदान गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।    नेकपा एमाले कालिकोट जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई आज कालीकोटको मान्ममा संवोधन गर्दे एमाले स्थायी कमिटी सदस्यसमेत रहेका  मुख्यमन्त्री कँडेलले लामो संघर्षपछि राजनीतिको कोर्ष परिवर्तन भएर गणतन्त्रसम्म स्थापना भएकोले अव पार्टी कमिटी तथा नेता कार्यकर्ताले राजनीति सँगसँगै विकास  र समृद्धिको लागि दबाब र जागरणमा अभियानमा संलग्न हुनुपर्ने धारणा राखेका हुन् ।

पार्टी स्थापनाको लामो समयसम्म राजनीतिको लक्ष्य राजनीतिक परिवर्तन र निरंकुश व्यबस्थाको समाप्तिका लागि संघर्ष भएको चर्चा गर्दे मुख्यमन्त्री कँडेलले अबको राजनीतिले गाँउका बस्तीहरुमा  विकास र निर्माणको लहर सुजना गर्न सक्नुपर्ने बताए । कर्णालीको अपार सम्भावना भएको भूगोल भएर पनिे यहाँको गरिबी, कुपोषण, गुणस्तरीय शिक्षाको अझै अभाव रहेको भन्दै मुख्यमन्त्री कँडेलले अव विचारसँगै   विकास र समृद्धि मार्फत जनताको जिवनमा खुसी दिनसक्नुपर्ने धारणा राखे ।

सत्तारुढ दलहरुले प्रतिपक्ष दललाई घेराबन्दी गरेर प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा संलग्न भएपनि जनताको माया र भरोसा तथा राष्ट्रवादी नेतृत्वका कारण लोकप्रिय मतमा एमाले ठूलो भन्दा हुन सफल भएको बताउदै मुख्यमन्त्री कँडेलले भने, घेराबन्दीकाबीच पनि हामीलाई जनताले विश्वास गर्नुभयो अव जनचाहना अनुसार देश संचालन गर्ने जनअपेक्षित र दीर्घकालीन महत्वका कामहरु गर्नुपर्छ।’

कर्णालीमा अझै पनि सडक पूर्वाधारको अभाव रहेको चर्चा गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली करिडोर अन्र्तगत कालिकोटदेखि मुगु नाक्चेनाङ्ला (कर्णाली राजमार्ग), सुर्खेतदेखि डोल्पा (भेरी करिडोर) लाई डेडिकेडेट दुई लेन, कोहलपुर सुर्खेत चारलेन सडक र सुर्खेत विमानस्थलको विस्तार गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको पनि मुख्यमन्त्री कडेलको भनाई थियो । मुख्यमन्त्री कँडेलले कर्णालीका पहाडी जिल्लाहरुमा नियमित उडान गर्ने र जलविद्युत उत्पादनमा देखिएको समस्याबारे सम्बन्धित निकायमा समन्वय र खवरदारी गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।  पर्यटन, बहुमूल्य जडिबुटीको प्रशोधन, पेट्रोलियम पदार्थको उत्खननमार्फत समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दिर्घकालीन लक्ष्य पूरा गर्न गर्ने आफ्नो नेतृत्वको सरकारले काम गर्ने पनि उनको भनाई थियो।

सरकारका राम्रा कामलाई जनस्तरसम्म लैजान पार्टीका नेता तथा कार्यकर्ता नै लाग्नुपर्नेमा जोड दिदै मुख्यमन्त्री कँडेलले देश निर्माणको अभियानमा सरकार र पार्टी सँगसँगै हिडेर मात्र जनआकर्षण बढाउन सकिने जनतालाई  निराशालाई चिर्न सकिने धारणा राखे ।

जिल्ला अध्यक्ष तुलाराम मल्लको अध्यक्षतामा सम्पन्न अगुवा कार्यकर्ता भेलामा केन्द्रीय सदस्य नगिन्द्रबहादुर शाही, दक्षिणा शाही पनि उपस्थित थिए।

Source : https://newsofnepal.com/2024/11/20/679103/