‘पासपोर्ट’ बनाउने काम ठप्प, कहिलेदखि खुल्ला?

काठमाडौं– दुई दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउन सकेका छैनन् । राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्रिया ठप्प भएको छ ।

प्रणालीका केही कम्प्युटर सफ्टवेयरमा मालवेयर छिरेको थाहा पाएपछि प्रणालीमा जोखिम नहोस् भनेर राहदानी वितरणको सबै कामकाज ठप्प गरेको
राहदानी विभागले जनाएको छ । तथ्यांकको सुरक्षा लगायतका दृष्टिबाट सबै समस्या समाधान भएपछि सेवा सुरु हुने विभागको दाबी छ ।

आइतबारसम्म त्रिपरेश्वरस्थित विभागको मुख्यालयबाट सेवा थाल्ने गरी समस्या समाधानको प्रयास भइरहेको विभागका महानिर्देशक तीर्थराज अर्यालले बताएका छन् ।

विभागले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएको समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको उल्लेख गरेको छ । ९ मंसिरसम्म यो समस्या समाधान नहुने समूहको प्रारम्भिक निष्कर्ष छ ।

१० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न प्रयासरत रहेको विभागले जनाएको छ ।

Source : https://onlinetvnepal.com/2024/11/186610/