साफ च्याम्पियनसिपको फाइनलमा हेर्न जाने दर्शकले यी सामान लैजान नपाउने
काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न जाने दर्शकलाई विशेष निगरानी गर्ने भएको छ। कार्तिक ११ गते दशरथ रङ्गशालामा नेपाल र भारतबीचको सेमिफाइनल खेलमा घटेका घटनाक्रमपछि एन्फाले सुरक्षामा विशेष ध्यान दिने बताएको हो।
एन्फाले आज हुने फाइनल खेल गर्न जाने दर्शकले दशरथ रङ्गशालाभित्र कुनै पनि प्रकारका धारिला हातहतियार, चुरोट, लाइटर, सलाई, मदिरा र अन्य नशालु पदार्थ, ठुला ब्याग तथा हेल्मेट लान निषेध गरेको जानकारी दिएको छ।
त्यस्तै अनुमति बिना ब्यानर, झन्डा, पोस्टर, पानीको बोतल, क्यान, पत्थर र अन्य फ्याँक्न मिल्ने धातुका मुद्रा क्याइन, कुनै पनि प्रकारका लागुऔषध, छाता, लिपस्टिक, नेल कटर, कैँची, काइयोलगायतका सामग्री रङ्गशालाभित्र लान निषेध गरिएको एन्फाले जनाएको छ। त्यस्तै एन्फाले फाइनल खेलको टिकट बिक्री आफै गर्ने भएको छ।
सेमिफाइनल खेलमा टिकट बिक्रीको अधिकार पाएको माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रालिले क्षमता भन्दा बढी टिकट बिक्री गरेको पाइएपछि सम्झौता रद्द गरेको छ।
एन्फाले फाइनल खेलको लागि जम्मा ११ हजार टिकट बिक्री गरिनेछ जानकारी दिएको छ, जसमध्ये १० हजार साधारण पारापिटतर्फ र १००० भिआइपी पारापिट तर्फको टिकट रहने जनाएको छ।