अवस्था दिनानुदिन खस्किन थालेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ११ संस्थापक एकैपटक बाहिरिए
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ११ संस्थापक एकैपटक बाहिरिने भएका छन् । बैंकको अवस्था झन्झन् खस्किन थालेपछी बैंकका ११ जना संस्थापक एकैपटक बैंकबाट बाहिरिने भएका हुन् ।
उनीहरुले बैंकबाट बाहिरिनकै लागि आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका छन् । बैंकका अनुसार ११ जना संस्थापकले कुल ३ लाख ३ हजार ९ सय ७८ कित्ता सेयर बिक्रीमा राखेका छन् ।
संस्थापकले बिक्रीमा राखेको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् । तर, ३५ दिनभित्र उक्त सेयर बिक्री नभएमा उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुदा गरिनेछ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
बैंकबाट बाहिरिनुको कारण नै पछिल्लो समय खस्किँदै गएको बैंकको साख नै भएको एक संस्थापकले बताएका छन् । यसो त सञ्चालकको योग्यतामाथि प्रश्न उठाउँदै केही समयअघि सर्वोच्च अदालतमा दायर भएको मुद्दाले संस्थाभित्र हलचल मच्चिएको थियो । यद्यपि सर्वोच्चले उक्त मुद्दा खारेज गरिसकेको छ । तर, संस्थाभित्रको आन्तरिक किचलोका कारण बैंक सञ्चालकको निर्वाचन अझै निश्चित भएको छैन ।