स्थानीय तह उपनिर्वाचन: कीर्तिपुरमा कसले मार्ला बाजी ?
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवारले एक अर्कासँग प्रतिस्पर्धा गर्दा काठमाडौंको कीर्तिपुर नगरपालिकाको नगरप्रमुख पदको निर्वाचन रोचक हुने बन्दै गएको छ । सत्तारूढ दल नै एक अर्कासँगको प्रतिपस्र्धामा उत्रिएपछि प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले त्यसको फाइदा लिनेगरी मैदानमा उत्रिएको छ ।
कांग्रेस, एमाले र माओवादी केन्द्रका बीचमा मुख्य प्रतिस्पर्धा हुने भनिए पनि स्वतन्त्र उम्मेदवारले उनीहरूलाई टक्कर दिने स्थानीयको दाबी
१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा मुख्यतः कांग्रेस, एमाले र माओवादी केन्द्रकै उम्मेदवारका बीचमा त्रिपक्षीय प्रतिपस्पर्धा हुने देखिन्छ । यद्यपप, यी दलका उम्मेदवारलाई अन्य राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारले कडा टक्कर दिने आँकलन गरिएको छ ।
कीर्तिपुरको नगरप्रमुखमा एमालेका डा. सुरेन्द्र मानन्धर, कांग्रेसका कृष्णमान डंगोल, माओवादी केन्द्रबाट प्राडा शिवशरण महर्जनले उम्मेदवारी दिई अहिले घरदैलो, भेटघाट गर्दै मत माग्नमा व्यस्त रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा))बाट ध्रुव महर्जनले उम्मेदवारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी दिएको छैन ।
कीर्तिपुर नगरपालिकाको नगरप्रमुख पदमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बाट दिलकुमार महर्जनले उम्मेदवारी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महेन्द्र राय यादव समूहको नेसपाले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।
२०७९ सालको निर्वाचनमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जनले समेत उल्लेख्य मत बढाउनसक्ने अनुमान गरिएको छ । यसैगरी, स्वतन्त्र उम्मेदवारहरू नवरथकुमार बानिया, राजमान महर्जन, कविकुमार महर्जन, दिनेशकुमार अधिकारीसहितका उम्मेदवारहरूका कारण यसपटकको उपनिर्वाचनमा के हुने भन्ने ’boutमा विभिन्न अड्कलबाजी स्थानीयले गरेका छन् । अर्को रोचक विषय भनेको धरानका नगरप्रमुख हर्क साम्पाङसमेत यहाँ मत माग्न आइपुगेका छन् ।
धरानका नगरप्रमुख साम्पाङ कीर्तिपुर नगरप्रमुख पदका उम्मेदवार राजमान मानवलाई सघाउन घरदैलो कार्यक्रममै सहभागी भएपछि कीर्तिपुरको निर्वाचन झनझन् रोचक बन्दै गइरहेको देखिन्छ । सोमबार नगरप्रमुख साम्पाङले कीर्तिपुर पुगेर स्वतन्त्र उम्मेदवार मानवसँगै घरदैलो गरेका हुन् । घरदैलोका क्रममा उनले मानव कीर्तिपुरको विकासका लागि काम गर्ने खालको मान्छे लागेकाले सघाउनका लागि आफू आएको बताए ।
‘उहाँ राम्रो मान्छे हो, निर्वाचनमा राम्रो मान्छेलाई भोट गरौं भन्ने हो,’ धरानका नगरप्रमुख साम्पाङले भने, ‘म उहाँलाई राम्रो काममा सघाउन आएको हुँ, साधारण मजस्तै मान्छे हो उहाँ, काम गर्ने खालको मान्छे हो ।’
हुन त कीर्तिपुर एमालेको बलियो आधारक्षेत्रका रूपमा बुझ्ने गरिन्छ । तर, सत्तारूढ दल कांग्रेस र एमालेकै बीचमा मित्रवत प्रतिस्पर्धा हुन थालेपछि त्यसको फाइदा माओवादीले उठाउन खोजेको छ । एकीकृत समाजवादी र महेन्द्र समूहको नेसपाको समर्थन पाएको माओवादी केन्द्र जित निकाल्न रणनीतिक रूपमा लागेको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको गढ भत्काउँदै कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी निर्वाचित भएका थिए । नकर्मी ९ हजार ४३ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशवरत्न बज्राचार्यले ५ हजार ५ सय ७ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जनले ४ हजार ९० मत पाएका थिए ।
एमालेको बलियो आधार क्षेत्र मानिए पनि पार्टी विभाजन भएकाले गत निर्वाचनमा कांग्रेसले बाजी मा¥यो । एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीका नेता बटुककृष्ण थापा गत निर्वाचनमा नगरप्रमुखका उम्मेदवार थिए । थापाले ११ सय ५३ मत पाएका थिए । यस उपनिर्वाचनमा एकीकृत समाजवादीले माओवादीलाई समर्थन गर्ने यसअघि नै सहमति गरिसकेको छ ।
तर, गत निर्वाचनमा एकीकृत समाजवादीकै उम्मेदवार थापासहितका नेताहरू एमालेमा फर्किसकेकाले आफ्नो विरासत जोगाउने कसरतमा एमाले रहेको देखिन्छ । स्थानीय राजु श्रेष्ठका अनुसार यसपटकको उपनिर्वाचनमा विभिन्न पार्टीले बलियो उम्मेदवार दिनु र स्वतन्त्र उम्मेदवार समेत कडा टक्कर दिने भएकाले प्रतिस्पर्धा रोचक बन्दै गइरहेको छ । श्रेष्ठले कीर्तिपुरमा मिश्रित समुदायको बसोबास भएकाले यहाँका मतदाताले पार्टी मात्रै नभई उम्मेदवारसमेत हेरेर मत दिने भएकाले नतिजा के आउने यसै भन्न गाह्रो हुने बताए ।
माओवादीबाट उम्मेदवार रहेका महर्जन पनि निष्कलंक र बौद्धिक व्यक्ति भएकाले उनले यसपटक उल्लेख्य मत बढाउनसक्ने माओवादीका कार्यकर्ता बताउँछन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारले कांग्रेस र एमालेको मत विभाजन गर्ने हुँदा त्यसको फाइदा माओवादीलाई हुने माओवादीका नेताहरूको दाबी छ । स्वतन्त्र उम्मेदवार बनेका राजमान एमाले पृष्ठभूमिका व्यक्ति हुन् । कवि कांग्रेसका क्रियाशील नेता हुन् । उनीहरूको उम्मेदवारीले ती पार्टीको मत विभाजन हुने माओवादी केन्द्रका नेता जीपी मैनालीको दाबी छ ।
तर, स्थानीय श्याम महर्जनले विगतमा एमालेको बलियो जनाधार भए पनि २०७९ सालको निर्वाचनमा कांग्रेसले जितेको र अहिले पनि कांग्रेसले नै जित्नसक्ने दाबी गरेका छन् । कांग्रेसका उम्मेदवार डंगोल भूगोल र जनताको समस्या राम्रोसँग बुझेका र इमानदार व्यक्ति भएकाले उनीमाथि स्थानीयको भरोसा रहेको उनको दाबी छ ।
The post स्थानीय तह उपनिर्वाचन: कीर्तिपुरमा कसले मार्ला बाजी ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104505/