हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
काठमाडौं ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका रवि लामिछानेमाथि अदालतले चारवटा पक्राउ पुर्जी जारी गरेको छ । राष्ट्रिय सवतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री लामिछानेविरुद्ध सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न पोखरा, रूपन्देही, काठमाडौं र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धनिर्देशक लामिछाने, पूर्वउपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले शुक्रवार प्रहरीलाई अनुमति दिएको छ । यसअघि नै उहाँलाई काठमाडौं जिल्ला अदालतले समेत पक्राउ गर्ने अनुमति दिएको प्रहरीले जनाएको छ । चितवन–२ का सांसदसमेत रहेका लामिछानेलगायत विरुद्ध साहारा चितवन सहकारीका २४ बचतकर्ताले बुधबार प्रहरीमा पूरक जाहेरी दिएका थिए । जाहेरीबमोजिम अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण केसीले बताउनुभयो ।
लामिछाने र जोशीसँगै जीबीग्रुपअफ कम्पनीका सञ्चालकहरू विशाल तामाङ, नवीन अछामी, रविना रिमाल र असरफ अली सिद्दिकी, नेचर नेस्ट प्रालिका सञ्चालक दीपकलामा, स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङ प्रालिका सञ्चालक भगवती बम्जन र नेचर हर्ब्स इन्टरनेसनल प्रालिका सञ्चालक कविता तामाङ र रामबहादुर खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ती कम्पनीमा साहारा चितवनबाट नियमविपरीत रकम गएको पाइएको छ ।
लामिछाने र जोशी यसअघि नै पक्राउ परेर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । उहाँहरू पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमाथि अनुसन्धानका क्रममा पक्राउ पर्नुभएको थियो । यसबीचमा बुटवलको सुप्रिम सहकारीको बचत हिनामिनामा रूपन्देही प्रहरीले दुवैमाथि बयान लिइसकेको छ ।
काठमाडौं प्रहरीले पनि स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धान गर्न लामिछाने र जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । जोशीमाथि बयान लिइसकेको काठमाडौं प्रहरीले लामिछानेलाई झिकाउने तयारी गरिरहेको छ । बचतकर्ताले दिएको जाहेरीमा साहारा चितवनबाट १० करोड ८० लाख रुपियाँ नियमविपरीत गोर्खा मिडियामा गएको उल्लेख छ ।
सहकारी संस्थाको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले गीतेन्द्रबाबु (जीबी) राईले विभिन्न सहरमा सञ्चालन गरेका पाँच सहकारीबाट नियमविपरीत ६५ करोड रुपियाँ गोर्खा मिडियामा लगेको निष्कर्ष निकालेको थियो । समितिले गत भदौ ३१ म बुझाएको प्रतिवेदनमा गोर्खा मिडियाका अध्यक्ष जीबी राई, प्रबन्धनिर्देशक रवि लामिछाने, तत्कालीन सञ्चालकद्वय छविलाल जोशी र कुमार रम्तेलमाथि अनुसन्धान र कारबाहीका लागि सिफारिस गरिएको थियो ।
रम्तेल गत भदौमै पक्राउ परेर पुर्पक्षका लागि थुनामा हुनुहुन्छ भने राई फरार हुनुहुन्छ । संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्दै प्रहरीले जोशीगत असोज ६ मा र लामिछाने कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेको थियो ।