१०१ वर्षीया बृद्धाको घाँटीमा अड्किएको मासुको डल्लो पाटन अस्पतालका चिकित्सकले निकाले

काठमाडौँ।

भक्तपुरकी १०१ वर्षीया बृद्धाको घाँटीमा अड्किएको मासुको डल्लो पाटन अस्पतालका चिकित्सकहरुले निकालिदिएका छन् ।

शताब्दी उमेर नाघेकी बृद्धाको गत शनिबार विहान खाना खाने क्रममा मासुको डल्लो घाँटीमा अड्किएको थियो । मासु अड्किएर छट्पटाएकी बृद्धालाई तत्काल परिवारले पाटन अस्पताल लगेका थिए ।

त्यहाँका नाक कान घाँटी (ईएनटी) चिकित्सकहरुको समूहले रिजिड ईसोफागोसकोपी) गरी निकालिदिएका दिएका हुन् ।

उपचारमा सम्लग्न इएनटी विशेषज्ञ डा. लिजन महर्जनले बृद्धा महिलालाई बेहोस गरेर घाटीमा अड्किएको ‘बफ’ मासु ‘रिजिड इसोफागोसकोपी’ गरी निकालिएको बताए । उनले बयोबृद्धा बिरामीमा दमको समस्या समेत भएकोले अहिले पाटनमै दमको उपचार भइरहेको जानकारी दिए ।

बयोबृद्धाको घाँटीमा अड्किएको मासु निकाल्न शनिबार डा. महर्जनसंगै डा. बिदुर अधिकारी, डा. ओम झा खटिएका थिए । यस्तै एनेस्थेसियामा डा. कृतिमाया गुरुङ र डा. रोशन खड्का थिए ।

डा. महर्जन बृद्ध बृद्धा तथा बालबालिकाहरुमा दाँत नहुने र दाँत नभएकोले मासु नचपाईँकन खाने बानी भएकाले मासु अड्कने जोखिम बढी हुने बताउँछन् । उनले धेरै जसो यस्तो केशहरु बढी मासु खाईने चाडपर्वमा हुने गरेको समेत बताए ।

डा. महर्जन यसरी घाँटीमा अड्किएका मासु तथा वस्तुहरु समयमै ननिकाले खाना खाने नलीमा इन्फेक्सन हुने, पिप जम्ने, खाना खाने नली प्वाल पर्ने, श्वास नलिमा असर गर्ने, फोक्सो वा मुटुसम्म समेत असर गर्ने र कहिलेकाँही मृत्युको जोखिम समेत हुने बताउँछन् ।

Source : https://newsofnepal.com/2024/10/21/674494/