अभिषेकको चलचित्र ‘आई वान्ट टु टक’ सुपर फ्लप

मुम्बई । लामो समयदेखि दाम्पत्य सम्बन्धमा तनाव झेलिरहेका बलिउड अभिनेता अभिषेक बच्चनलाई यतिबेला चलचित्रमा पनि झट्का लागेको छ । उनले निकै आशा गरेको सुजित सरकारद्वारा निर्देशित चलचित्र ‘आई वान्ट टु टक’ २२ नोभेम्बर शुक्रबार रिलिज भएको थियो । यो चलचित्रले बक्स अफिसमा नराम्रो असफलता भोगेको छ । जसका कारण अभिषेक यतिबेला थप निराश भएका छन् ।

यो चलचित्रमा अभिषेक बच्चन मुख्य भूमिकामा छन् । उनको काम र अभिनय देखेर मानिसहरुले उनको तारिफ गरिरहेका छन् । तर यति धेरै तारिफ गर्दा पनि चलचित्रले बक्स अफिसमा खासै कमाई गर्न सकेको छैन ।

अभिषेक बच्चनले चलचित्र ‘आई वान्ट टु टक’को प्रचार प्रसारमा पुरा समय दिएका थिए । उनले चलचित्रको प्रदर्शनमा पनि त्यत्तिकै चिसो देखाए । चलचित्र रिलिज भएको पाँच दिन बितिसक्दा पनि ‘आई वान्ट टु टक’ ले २ करोड कमाउन सकेको छैन । यो चलचित्रले बक्स अफिसमा पाँच दिनमा जम्मा एक करोड ६५ लाख रुपैयाँको मात्र व्यापार गरेको छ । चलचित्रले एक सातामा दुई करोडको व्यापार गर्न मुस्किल अबस्था आएको छ ।

यो चलचित्रले पहिलो दिन २५ लाख, दोस्रो दिन ५५ लाख, तेश्रो दिन ५३ लाख, चौथो दिन १७ लाख रुपैयाँको व्यापार गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ । यस्तै चलचित्रले पाँचौ दिनमा १५ लाख रुपैयाँको व्यापार गरेको छ । यसरी यो चलचित्रले घरेलु बक्स अफिसमा जम्मा एक करोड ६५ लाख रुपैयाँको व्यापार गरेको छ ।

यसरी अभिषक बच्चनले अहिलेसम्म अभिनय गरेको चलचित्रमध्य सबैभन्दा खराब व्यापार यो चलचित्रले गरेको छ । चलचित्रको फष्ट लुक्स पोष्टर नै आकर्षन नभएको दर्शकहरुको टिप्पणी छ । यो चलचित्रमा अभिषेक बच्चनसँगै अहिल्या बमरु, टम म्याक्लारेन, जेनेट कार्टरसहित थुप्रै चलेका कलाकारहरु छन् । यो चलचित्रको लागत नै ४० करोडको रहेको छ । यो चलचित्रको भारतमा पहिलो सातामा दुई करोडको पनि व्यापार हुन गाह्रो अबस्था आएको छ । यो चलचित्रबाट निर्माण पक्ष पूर्ण रुपमा घाटामा जाने देखिएको वितरकहरुको कथन छ ।

यो चलचित्रमा अभिषेकले मार्केटिङ पर्सन अर्जुन सेनको भूमिका निर्वाह गरेका छन् । उनी अमेरिकामा आएर एमबीए गरेका एक भारतीयको चरित्रमा छन् । यसमा उनी एक छोरीको पिताको रुपमा छन् । पत्नीसँगको सम्बन्ध विच्छेदपछि छोरी र आफ्नो जीवन यापनको लागि पिज्जा बेच्ने चरित्रमा समेत उनले सँघर्ष गरेको कथा यो चलिचत्रमा छ । सँघर्षकै क्रममा क्यान्सरको सिकार भएर उनले आफु बसेको घर र जागिर समेत गुमाउँदाको पीडाले यो चलचित्रमा दर्शकलाई भावुक बनाउँछ । डाक्टरले १०० दिन बाँच्ने घोषणा गर्दा पनि उनले हार खाँदैनन् । उनी रोग बिरुद्ध निरन्तर लडिरहन्छन र आफ्नो आत्म विश्वास घट्न दिँदैनन् ।

यसरी यो चलचित्रको कथा निकै मार्मिक भएकाले हेरेका दर्शकले चलचित्र मन पराएका छन् । तर पनि हलसम्म दर्शक नै नआएकोमा अभिषेक चिन्तित भएका छन् । चलचित्र यतिसम्म असफल हुन्छ भन्ने उनले सोचेका पनि थिएनन् । यो चलचित्रले अभिषेकलाई यतिबेला आफ्नो चलचित्र करिअरमा एउटा नमिठो धक्का दिएको छ ।

The post अभिषेकको चलचित्र ‘आई वान्ट टु टक’ सुपर फ्लप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/104588/