आश्विन शुक्ल पूर्णिमाको व्रत कहिले ? पात्रोपिच्छे फरक

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको विभिन्न पञ्चाङ्गहरूमा आश्विन शुक्ल पूर्णिमाको व्रतका दिन फरक–फरक मितिहरू उल्लेख हुँदा जनमानसमा भ्रम उत्पन्न भएको छ। तोयनाथ पन्तको पञ्चाङ्गमा असोज ३० गते बुधबार पूर्णिमा व्रत मनाउने उल्लेख छ भने अन्य पञ्चाङ्गहरूमा कात्तिक १ गते बिहीबार लेखिएको छ। यसले पञ्चाङ्ग प्रयोगकर्तामा कुन दिन पूर्णिमा व्रत बस्ने भन्ने भ्रम उत्पन्न भएको हो ।

मच्छेन्द्र सापकोटाजस्ता प्रयोगकर्ताहरूले कुन दिन व्रत बस्ने भन्ने स्पष्ट नभएको गुनासो गरेका छन्। सूर्यनाथ पन्त, तोयनाथ पन्तको पञ्चाङ्गका सम्पादकले असोज ३० मा पूर्णिमा व्रत उल्लेख गर्न भुल भएको र यो त्रुटि सच्याएर नयाँ पञ्चाङ्ग निकालिएको बताएका छन्। तर, पहिलेको पञ्चाङ्ग बजारमा पुगिसकेको हुँदा प्रयोगकर्तामा अन्योल बढेको हो।

समितिका सदस्य प्राडा देवमणि भट्टराईका अनुसार व्रत साँझको पूर्णिमा तिथिमा मनाइने भएकोले कात्तिक १ गते हुने निर्णय गरिएको हो। कोजाग्रत पूर्णिमा भने असोज ३० गते मध्यरातमा पर्ने हुनाले त्यही दिनको निर्णय गरिएको छ। साथै, अखिल बलि पूर्ति भने असोज ३० गते नै परेको समितिले जारी गरेको सूचनामा उल्लेख छ।

The post आश्विन शुक्ल पूर्णिमाको व्रत कहिले ? पात्रोपिच्छे फरक appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/492818/