ईश्वरपुर आँखा उपचार केन्द्रको उद्घाटन मंसिर ११ गते

ईश्वरपुर । सर्लाहीको ईश्वरपुर नगरपालिकामा खुलेको आँखा अस्पतालको उदघाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गर्नु हुने भएको छ । ईश्वरपुर नगरपालिका वडा नं.९ गैचरणमा रहेको आँखा उपचार केन्द्रको उदघाटन मंसिर ११ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गर्नु हुने ईश्वरपुर नगरपालिकाले जनाएको छ ।

उदघाटन पश्चात मन्त्री पौडेल, ईश्वपुर नगर प्रमुख मनोजकुमार आचार्यले करिब १ हजार आँखाको रोगीसँग अन्तक्रिया कार्यक्रम समेत गर्ने नगरपालिकाले जनाएको छ । यसैगरी सोही दिन नगर अस्पतालमा किडनीको समस्या भएको बिरामीको डाइलेसिस सेवा र पाठेघरको अपरेशनको समेत निःशुल्क व्यवस्थापन गरिने नगर प्रमुख आचार्यले जानकारी दिए ।

उनले आफुले नगरवासीमा स्थानीय सरकारको अनुभुति गराउन हरेक किसिमको विकास निर्माण कार्य तिव्र गतिमा बढाउने बताए । अहिलेलाई स्वास्थ्य, शिक्षा, कृषि पेसालाई आफूले प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुख आचार्यले बताए ।

नगर प्रमुख आचार्यको छ महिनाको अथक प्रयास पछि ईश्वरपुरमा आँखा अस्पताल खुलेको छ । अस्पताल संचालन भए लगत्तै करिव १ हजार ३ सय ४४ जना स्थानीयले आँखाको उपचार गराएका छन भने दुई सय भन्दा बढीले मोतीयाबिन्दुको अपरेशन गराइसकेका छन। आँखा अस्पताल करिब एक हप्ता अघि खुलेको थियो ।

The post ईश्वरपुर आँखा उपचार केन्द्रको उद्घाटन मंसिर ११ गते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/104148/