उज्यालो पर्व तिहारले दिदीबहिनी र दाजुभाइबीच स्नेह बढाओस्- प्रधानमन्त्री ओली

काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन् । भाइटीकाको अवसरमा आइतबार सामाजिक सञ्जाल मार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना गरेका छन् । भाइटीकाले दिदीबहिनी र दाजुभाइबिच थप स्नेह जागृत गर्ने उनले विश्वास लिएका छन् ।

‘यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबिचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान पर्व भाइटीका, समस्त दिदीबहिनी दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना’ प्रधानमन्त्री ओलीले लेखेका छन्।

Source : https://newsofnepal.com/2024/11/03/676536/