ओली सरकार ‘नाजीवादी’ सोचले ग्रस्त छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सत्तापक्षका ‘सहकारी ठग’हरुलाई बचाउने र संरक्षण गरेको गम्भिर आरोप लगाएका छन् ।

सिंहदरबार स्थित आजपाको संसदीय दलको कार्यालयमा आज सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले यस्तो आरोप लगाएका हुन् । सरकारले सत्तापक्षका ‘सहकारी ठग’हरुलाई बचाउने र संरक्षण गरेको आरोप लगाउदै उनले यस्तो कार्यको विरोध पनि गर्न नपाउने भन्ने कुराले सरकार ‘नाजीवादी’ सोचबाट ग्रस्त भएको टिप्पणी गरे ।

‘यो सरकार राजवादी भन्दा पनि निरंकुशशैलीमा अगाडी बढेको छ । बच्चा रुदा रोएको हो भन्ने कुरा पनि गर्न नपाउँनु भन्ने सरकारको नाजीवादी सोच र चाहना समाजका लागि हानिकारक छ’ आजपा अध्यक्ष साहले भने, ‘सरकारले गौर हत्याकाण्ड जस्ता जघन्य अपराधीलाई संरक्षण गर्ने, उसंग साठगाठ गर्ने गरेको देखियो । सरकारको विरोध गरेपछि रबी लामिछानेलाई पक्राउँ गर्ने र सरकारको समर्थन गर्ने गम्भिर अपराधका अपराधीलाई छोड्ने कामलाई हामीले के भन्ने ?’

सरकारले सत्तापक्ष र प्रतिपक्षको आधारमा पक्षपातपूर्ण छानविन र अनुसन्धान गरेर निरंकुशशैलीमा अगाडी बढेको उनले बताए । सरकारको विरोध गरेपछि रास्वपा अध्यक्ष रवि लामिछानेलाई पक्राउ गरेको बताउदै उनले सरकारलाई समर्थन गरेकै आधारमा गौरहत्याकाण्डका अपराधीहरु जसपा अध्यक्ष उपेन्द्र यादवहरुलाई सरकारले किन पक्राउ नगरेको भन्दै उनले प्रश्न उठाएका छन् ।

सरकारको गलत क्रियाकलापको विरोध गर्दा विरोध गर्न नपाउने कुरा प्रधानमन्त्री ओली अध्यक्ष रहेको पार्टी एमालेले गर्नु भनेको ‘नाजीवादी’ सोच भएको उनले टिप्पणी गरेका छन् । एमालेले शान्तिपूर्ण आन्दोलनलाई अपराध देख्नु र आन्दोलनकारीलाई तर्साउने सोच राख्नु क्रुर नाजीवादी सोच भएको साहले बताए ।

एमाले महासचिव शंकर पोखरेलले आजै एक विज्ञप्ती जारी गर्दै सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपाले गरेको आन्दोलनले प्रहरी अनुसन्धानमा बाधा पुगेको भन्दै त्यस्तो गतिविधि नगर्न भनेपछि साहले यस्तो टिप्पणी गरेका छन् ।

उनले एमालेले शाहीकालको जस्तो व्यवहार देखाउनु लोकतन्त्रको उपहास भएको दाबी समेत गरेका छन् । साहले आफूले यसअघिदेखि भन्दै आएको कुरा मुलुकमा अहिले लोकतन्त्र नभएर दलतन्त्र हाबी भएको कुरा एमालेको पछिल्लो गतिविधिले झनै पुष्टि गरेको स्पष्ट पारे । एमाले महासचिव पोखरेलको विज्ञप्ती आएलगत्तै सिंहदरबारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले एमाले ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालको अवस्थामा पुगेको बताए ।

उनले भने, ‘नागरिकले शान्तिपूर्ण आन्दोलन गर्न पाउने उसको अधिकार हो । संविधानले नै यो कुरा ग्यारेन्टी गरेको छ । अनि शान्तिपूर्ण आन्दोलनमाथि दमन गर्ने, आन्दोलन नै गर्न पाउँदैनस् भन्नु दमनकारी सोच हो । यो अधिनायकवादी सोच हो । एमालेको व्यवहार त बच्चालाई कुट्ने अनि रुनपनि नदिनेजस्तो देखियो ।’

साहले अब जनताको शासन स्थापित गर्न निर्णायक संघर्षमा होमिनुपर्नेमा जोड दिए । उनले आफूले त गत चैत्रमा नै काठमाडौंमा बृहत्त आमसभा गरेर तेस्रो जनआन्दोलनको उद्घोष गरेको र अहिलेका नेताहरुको कुकर्मको कारण तेस्रो जनआन्दोलन सम्मनिकट आएको सुनाए ।

The post ओली सरकार ‘नाजीवादी’ सोचले ग्रस्त छ : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102709/