शान्तिको चाहना

हरेक वर्ष २४ अक्टोबरमा संयुक्त राष्ट्रसंघ दिवसका रूपमा मनाउने गरिन्छ । यस संस्थाको मूल उद्देश्य नै विश्वभरि शान्ति स्थापना गर्ने हो । हिंसाले हिंसा नै निम्त्याउँछ, शान्तिले शान्ति नै । मानव इतिहास ढुंगे युगबाट गुज्रिएको हो, मानव सभ्यताको उदय भएको करोडौं वर्ष भइसक्दा पनि विश्वमा एक मानवले अर्को मानवबीच द्वैषका रूपमा हेर्न छोडेको छैन । सर्वे भवन्तू सुखिनःको सिद्धान्तमा दोस्रो विश्वयुद्धपछि स्थापित राष्ट्रसंघकोे इतिहास पनि लामो भइसकेको छ र पनि आज संसार अचम्मको अशान्तिको जोखिममा छ । विश्वमै अशान्तिका काला बादल देखिनु आधुनिक र सभ्य भनिएको संसारका लागि सुहाउने कुरो होइन ।

हालै दक्षिणी लेबनानमा शान्ति सैनिकमाथि इजरायलले आक्रमण गरेको छ । नेपालसहित ३४ देशले यसको निन्दा गरेका छन् । इजरायली सेनाले हिजबुल्लाह लक्षित आक्रमण गर्दा कतिपय घाइते भएका छन् । नेपाली सेना पनि लेबनानमा शान्ति सेनाका रूपमा खटिएका छन् । नेपाल आफैंमा सबैले शान्तिका प्रतीक मानेका बुद्धको जन्मस्थल हो । केही वर्षअघिदेखि रसिया र युक्रेन, त्यसअघिका सिरिया अफगानिस्तान द्वन्द्व कैयन् उदाहरण छन्, जसले संयुक्त राष्ट्रसंघलाई चुनौती दिए । हाम्रो भूमि देव, वैदिक र बुद्ध भूमि, यहीँ पनि विगतको १० वर्षे सशस्त्र युद्ध चल्यो । अहिले पनि छिट्फुट अशान्ति नै छ र यसै नवरात्रमा एक अभियन्ताको टाउको फोरियो, विगतमा यहाँको युद्धले हजारौं नेपालीहरूको अकाल ज्यान गयो र सशस्त्र द्वन्द्वमा फसेको देशमा युद्धबाट ध्वस्त संरचनाहरू पुनर्निर्माण भइसकेको अवस्था अभैm छैन । नेपाल विश्व मानचित्रमा सानो भूभाग र कम जनसंख्या बसोबास गर्ने स्थल हो । यो आफैंमा गरिब देश हो र संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र पनि । लाग्छ, पहिलो महायुद्धपछि स्थापित लिग अफ नेसन असफल भएजस्तै दोस्रो विश्वयुद्धपछि नामकरण भएको संयुक्त राष्ट्रसंघ पनि असफल हुने हो कि ? संसारमा जैविक हतियारको होडबाजी छ ।

अहिंसाले पनि संसारलाई परिवर्तन गर्न सकिन्छ भन्ने मूल नारा लिने महात्मा गान्धीको जन्मदिनलाई सम्झँदै संयुक्त राष्ट्रसंघले नै भनेर संसारले मान्दै आएको २१ सेप्टेम्बर अहिंसा दिवसले पनि खासै अहिले सार्थकता पाउन सकेको छैन । संसारले कहालीलाग्दो प्रथम र दोस्रो विश्वयुद्धलाई बिर्सेको छैन, महायुद्धभन्दा खतरा साबित भई देखिएको कोभिड १९ लाई पनि बिर्सने अवस्था रहेन र भर्खरैको प्राकृतिक विपत्तिले हाम्रो मन क्षतविक्षत भएको छ । मन नै अशान्त भएपछि बाह्य परिवेश कसरी शान्त होला ? उत्पादनको कमी, व्यपार घाटा र ऋण अनि करको मार र महँगीले पिल्सिएका नेपालीहरू बेरोजगार छन् र विदेश भौंतारिएका छन् । भूकम्प, डेंगुलगायतका पीडामा पनि छन् । हाम्रो जीवनशैली अस्वस्थकर हुँदै छ र रोगीको संख्या बढेको छ । प्रकृति र मानव निर्मित घटनाको सिकार हुनुपरेको छ । जलवायु परिवर्तनको प्रभाव थप समस्याको विषय बनेको छ । अन्नबालीकै अभाव, सडेगलेका खाना, कुपोषण हाम्रो समस्या बनेका छन् । संसारका सदस्य राष्ट्रबीच यी र यस्तै प्रकृतिका भयबाट मुक्ति दिलाउन स्थापित राष्ट्रसंघ असफल हुनु भनेको तमाम ८ अर्ब मानिसको असफलता हुनसक्छ, विज्ञानलाई चुनौती हुनसक्छ ।

अभयी वातावरणमा बाँच्न पाउने मानवअधिकार कुण्ठित हुने अवस्था हुनसक्छ । ११ सेप्टेम्बरको अमेरिकी ट्वीन टावरको आक्रमण, अमेरिका–चीनको व्यापारिक द्वन्द्व कसैबाट टाढा छैन । नेटोतिर लाग्यो भन्दै रसियाले गरेको युक्रेनमाथिको बमबारी, त्यसको विरुद्धमा अमेरिकी बल र सामथ्र्यको प्रयोगले आज संसारभरिका मानिसलाई मनोवैज्ञानिक असर यसकारण पनि परेको छ कि यिनै कारणले विश्वभर महँगी छ र गरिब उपभोक्ताहरू बजार युद्धबाट आक्रान्त छन् । एकछत्र डलरको मूल्यले सबैलाई चिमोटेको छ, सुनको मूल्य चरम माथि पुगेको छ, यूएस डलरविरुद्ध अन्य मुद्राका लागि विभिन्न शक्ति देशहरू एकजुट हुन थालेका छन् ।

पृथ्वी नै कुटुम्ब हो वा ब्रहमाण्डैव कुटुम्बकम् वा ग्लोबल भिलेज भने पनि व्यवहारमा त्यस्तो अनुभूति छैन । पहिलो महायुद्धलगत्तै स्थापित लिग अफ नेसनझैं दोस्रो विश्वयुद्धपछि स्थापित संयुक्त राष्ट्रसंघ पनि असफल हुने हो कि ?

युक्रेनको पक्षमा संयुक्त राष्ट्रसंघ उत्रिएको छ, भोटिङ गरेर, नेपालले समर्थनमा मतदान ग¥यो, छिमेकी देशहरूको आँखा हामीप्रति फरक रह्यो पनि । पेट्रोलियम पदार्थ, हवाई भाडालगायतले पर्यटन क्षेत्र मात्रै होइन कम आय भएका, बेरोजगारीको पीडा बोकेका सबैलाई आतंकित बनाएको छ, त्यही युद्धले । आतंक हत्या मात्रै होइन, हिंसा, मारकाट मात्रै होइन, मन, वचन कर्मले अरूको पीडा नहुनु शान्ति हो भनेको छ पूर्वीय धर्म, दर्शनले । पूर्वीय दर्शनको स्रोत भूमि हाम्रा पुर्खाले पृथ्वी शान्तिः, आपः शान्तिः ओषधयः शान्तिः, वनस्पतयः शान्तिः, अन्तरिक्षः शान्तिः भने, अर्थात् यो ब्रह्माण्ड पुरै शान्ति होस् भने तर शान्तिका लागि यो सन्देश दिने हामी नेपालीले के प्रयास ग¥यौं भन्ने प्रश्न छ । सशस्त्र युद्धपछिको शान्ति सम्झौतापछि पनि तराई क्षेत्रको हिंसालाई के भन्ने ? जनक, जानकी, व्यास क्षेत्र नेपाललाई के भन्ने ?

संसारकै शिर भाग बोकेको सगरमाथाको देशलाई के भन्ने ? इतिहासमै बाह्य आक्रमण छैन हामीलाई तर हाम्रो भूमि हालको भन्दा तेब्बर थियो पहिले । वीरताको भूमि कसरी भन्ने जब कि भाषा, संस्कृतिलगायत तमाम अर्थ बजारको औपनिवेशिकता छ यहाँ । राजनीतिक दलहरूले विदेशी छाता ओढेका छन्, अन्यत्र पानी पर्दा यहाँ छाता ओढ्नुपर्छ, नदेखिनेगरी र धेरै राजनीतिक परिवर्तनमा देखिनेगरी नै विदेशी भूमिबाट दलहरू सञ्चालित छन् । दलहरूले क्रान्ति गरे यहाँ, परिवर्तन पनि गरे तर राजनीतिक परिवर्तनको नारा सबै अधुरो छ । देश सुखी र समृद्ध होइन विदेशी इसारामा चलेको भान भएको छ । जन्मदेखि मृत्युसम्म तिरेको करको सदुपयोग भएको छैन, तमाम दैनन्दिन जीवनका सामान आयात गर्नुपरेको छ र नरम अनि सजिला नेपाली बिदेसिएका छन् र तिनको विप्रेषणले राजनीतिक दलका नेताहरू पालिएका छन् र त लाखौं होइन करोडौं रकम नेताको उपचार र सुरक्षामा खर्च हुन्छ । महँगा विदेशी गाडी, हेलिकोप्टर, शौचालय, कार्पेट, आलिशान महलको प्रयोग हुन्छ र परिवारवादको संस्कृति हुर्केको छ । निर्वाचनलाई समेत नाटकीय शैली प्रयोग गर्दै आपूm र आप्mनै जोडी नीति निर्माणको तहमा पुग्छन्, बार्गेनिङ हुन्छ, सत्ता बाँडफाड हुन्छ, अप्राकृतिक गठबन्धन हुन्छ, सत्ता पक्ष मात्रै होइन स्वार्थका लागि विपक्षी गठबन्धनसमेत हुन्छ । बिजुली महँगो दरमा स्वदेशमा बिक्री हुने र सस्तोमा निर्यात हुने गर्छ, अन्तर्राष्ट्रिय रूपमा इन्धनको मूल्य घटेर आउँदा यहाँ घट्दैन, बरु बढ्छ । शिक्षा गुणस्तरीय छैन, स्वास्थ्य उपचार महँगो छ ।

संविधानमा भए भरका शब्दहरू राखिन्छ प्रयोगमा आउँदैनन्, दुई तिहाइको दम्भ देखाइन्छ । सुशासनको नारा खोक्रो हुन्छ र विदेशीलाई रिझाउन अनेक प्रयास गरिन्छ । फास्ट ट्र्याकबाट नागरिकता विधेयक आएको र ढुंगा माटो बेच्नसमेत ऐन ल्याइएको हो । असंलग्न परराष्ट्र नीति भनिन्छ, व्यवहारमा त्यस्तो देखिन्न, विदेशीहरूको खेल मैदान बन्छ देश । श्रीलंका, बंगलादेशको अवस्था बिर्सेका छन्, यहाँका राजनीतिकर्मीले ।

हाल १ सय ९३ बढी राष्ट्रहरू संयुक्त राष्ट्रसंघका सदस्य छन् । १ सय ४० देशमा त शान्ति दिवस नै मनाइन्छ तर आमरूपमा शान्तिको अनुभूति हुनसकेको छैन । यूएनओ स्थापना भएकै देश अमेरिकाको टेक्सासमा विगतको गोलीकाण्डमा १९ जनाको ज्यान गएको थियो, जसमा विद्यार्थीहरू नै परेका थिए १७ जना । उत्तर कोरिया आणविक हतियारमा अग्रसर छ, सिरिया अफगानिस्तानमा हिंसा रोकिएको छैन, रुस–युक्रेनको गोलाबारी अभैm जारी छ । संसारमा शान्ति र विकासका लागि अग्रसर भएको जापानमा पूर्वप्रधानमन्त्रीको गोली हानी हत्या भयो । र त भन्नुपरेको छ, अहिंसा परमो धर्म खोक्रो नारा साबित भएको छ, बलियाको रजाइँ निर्धाको आँसु भएको छ संसार ।

संसारले चाहेको द्रुत विकासको पहिलो आवश्यकता अहिंसा र शान्ति नै हो । क्रान्तिले युग परिवर्तन खोज्नु सबैका लागि भूल हुनेछ र त हाम्रा वैदिक ऋषि महर्षिहरूले अनेकानेक खोज र अनुसन्धान गरेर विश्व शान्तिको पहल गरे । पूर्वी संस्कारमै हुर्केका बुद्ध यहीँका थिए । धर्मको स्थापनाका लागि युगयुगमा म पृथ्वीमा अवतरित हुनेछु भनी स्वयं ईश्वरले गीतामा भनेका छन् । विद्धान् विल्सनले भनेका छन्– प्रजातन्त्रका लागि पनि यो संसारलाई सुरक्षित राख्नुपर्छ । मान्छेलाई सुधार्ने मुख्य औषधि भनेको प्रेम र स्नेह नै हो । विद्धान् वाइरनको भनाइ छ, जसले आप्mनो देशलाई माया गर्न सक्दैन, उसले कसैलाई पनि माया गर्दैन । प्रसिद्ध विद्धान् गेटेको भनाइ छ, राजा या रंक होस्, जसले घरमा शान्ति पाउँछ, उही सुखी हो । हाम्रा पुर्खाले बसुधैव कुटुम्बकम् अर्थात् सम्पूर्ण बसुधा भनौं पृथ्वी नै कुटुम्ब हो भने, त्यति मात्रै नभएर ब्रह्माण्डैव कुटुम्बकम् भने । आज त्यसैलाई ग्लोबल भिलेज भन्छौं तर व्यवहारमा त्यस्तो छैन । वायु, ध्वनि प्रदूषण नगरी संसारलाई शान्त, सुखी बनाउन पर्यायवरणको चासो हुनुपर्ने हो ।

भूमि, आकाश, पाताल र समस्त वायुमण्डल शुद्ध नभई यहाँ रहने प्राणीहरू शुद्ध हुँदैनन् । मानव मस्तिष्कको स्रोत भन्नु ईश्वर हो । ईश्वरप्रदत्त मानव मस्तिष्कको उपज भन्नु विज्ञान हो । सही र सदुपयोग गर्दा विज्ञान वेदमणि हुनसक्छ । जैन, सिख, हिन्दू, क्रिस्चियन, मुस्लिम, बौद्ध जे सम्प्रदाय भने पनि पहिले हामी मनुका सन्तति मानव हौं, फलाममय जगत्लाई पारसमणिका रूपमा प्रयोग गर्न सक्नु मानव हितअनुकूल छ । चन्द्र, सूर्य नभएको स्थान कहाँ हुन्छ र ? धर्मको विशालता शब्दमा सीमांकन हुन्न, हाम्रा धर्म संहिताहरूले मानव संस्कारका ’bout लेखे तर हामी मृगमरिचिकामा छौं । आपूmसँग भएको वस्तु हेला गर्छौं, परतिरको घाम घमाइलो हुँदै छ हामीलाई र त दिवसलाई मात्रै दिवसका रूपमा हेर्छौं, त्यसको सन्देशलाई भुल्छौं । हिँड्दै छ, पाइला मेटिँदै छ, हाम्रा सपना सबै अधुरा छन् ।

The post शान्तिको चाहना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102706/