बाढी पहिरो पीडितलाई भारतको सहयोग

काठमाडौँ । भारत सरकारले नेपालमा बाढी पहिरोबाट प्रभावित परिवारका लागि आपतकालीन राहत सामाग्री सहयोग गरेको छ । भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंहले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्र प्रसाद रिजाललाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

सहयोगको पहिलो चरणमा टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको ४.२ टनको उक्त मानविय सहायताको खेप भारतबाट नेपालगन्ज ल्याइएको थियो ।

पहिलो चरणको सहयोग सामाग्री हस्तान्तरण गर्दै भारत सरकार अन्य अत्यावश्यक सरसफाई सामाग्री तथा औषधीका साथै अन्य राहत सामाग्री पनि छिट्टै उपलब्ध गराउने भारतीय राजदूतावासले जनाएको छ ।

२०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको र बाह्य मुलुकमा अपरेशन मैत्री नामक सबैभन्दा ठूलो विपद् राहत अभियान सञ्चालन गरेको भारतीय दूतावासले जनाएको छ । दूतावासका अनुसार २०८० साल कार्तिकमा जाजरकोटमा भूकम्प गएपछि पनि भारत सरकारले नेपालमा राहत सामाग्री सहयोग गरेको थियो ।

Source : https://arthasarokar.com/2024/10/sahayog-15.html



Related Posts