चार हजार मिटर उचाइमा पहिलोपटक पाँचपोखरी महिला ट्रेल रेस: खोटाङकी निर्मला राई प्रथम

सिन्धुपाल्चोक।

नेपालमा पहिलोपटक चार हजार मिटर बढी उचाइमा महिला ट्रेल रेस सम्पन्न भएको छ । विश्व समावेशी साहसी संस्था र सिन्धुपाल्चोकका १२ वटै पालिकाको सहकार्यमा ‘पाँच पोखरी विमन ट्रेल रेस २०८१’ सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा २ घण्टा २८ मिनेटमा रेस पूरा गरेर खोटाङकी निर्मला राई प्रथम हुँदै ५० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भइन् ।

यसैगरी २ घण्टा ४९ मिनेटमा रेस पूरा गरेकी ओखनलढुंगा घर भई नेपाल पुलिस क्लबमा कार्यरत लक्पा निग्मा शेर्पा दोस्रो हुँदै नगद २५ हजार, कप, मेडल र प्रमाणपत्र पनि प्राप्त गरिन । हेलम्बुकी नितु तामाङले २ घण्टा ५८ मिनेटमा रेस पूरा गरेर तेस्रो स्थान हासिल गर्दै १५ हजार नगद सहित कप, मेडल र प्रमाणपत्र गगरिन् ।

तीन घण्टा ११ मिनेटमा रेस पूरा गरेकी सिन्धुपाल्चोककै अस्मिता भुजेल चौथो पुरस्कारका रुपमा नगद १० हजार , मेडल र प्रमाणपत्र पाउइन् । तीन घण्टा १८ मिनेटमा रेस पूरा गरेर रोल्पाकी आस्मा विक पाँचौ हुँदै पाँच हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । ५४ वर्षीया सुकुमाया विकले सहभागीताका लागि मायाको चिनो स्वरूप नगद पुरस्कार प्राप्त गरिन् ।

रेस जित्ने तथा सहभागी महिला धावकलाई उपसभामुख इन्दिरा रानाले कपसहित पुरस्कार तथा मायाको चिनो र प्रमाणपत्र वितरण गरिन् । उपसभामुख इन्दिरा रानाले यो म्याराथनले महिला सशक्तीकरण, पर्यटनमा टेवा पु¥याँउने बताइन् । समावेशीताको हिसाबले पनि यो म्याराथनले उच्च सन्देश दिएको उनको भनाइ थियो । ‘विश्वकै अग्लो हाइटबाट बहिनीहरूले म्याराथन गर्नु गर्वको कुरा हो । सँगै पर्यटन प्रवर्द्धनका लागि यो महत्त्वपूर्ण छ,’ उनले भनिन् ‘मौलिकता, संस्कृति झल्किनेगरी बाटो र बस्ती विकास गर्न सुझाव दिँदै रानाले अर्गानिक र मौलिकता नै पर्यटकीय सम्भावना भएको हो ।’उपसभामुख रानाले भनिन् ।
उनले पाँचपोखरीको डाँडाहरूमा धान झुलेको देखेर आफू मोहित भएको अनुभूति व्यक्त गर्दै यो ठाउँले प्रशस्त सम्भावना बोकेकाले इको पर्यटनलाई प्रवर्द्धन गर्न अनुरोध गरिन् । सडक स्तरोन्नति निर्माणका लागि आफूले सक्दो पहल गर्ने उनले प्रतिबद्धता जनाइन् ।

पाँचपोखरी थाङपाल गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको नेतृत्वमा सम्पन्न ट्रेल रेसमा ५१ जनाले भाग लिएका थिए । ट्रेल रेसका लागि उमेरले ५० कटेकी उपाध्यक्ष अधिकारीसहित महिला तथा किशोरीहरू २८ असोजमा पाँचपोखरी गएका थिए । २८ किलोमिटरको दुरी र ४१ सय मिटर उचाइमा रहेको पाँचपोखरीबाट शुक्रबार विहान सात बजे रेस सुरू भएको थियो । पाँचपोखरी गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले ४१ हजार मिटर उचाइमा महिला ट्रेल रेस गरिएको पहिलोपटक भएको बताइन् । उनका अनुसार ट्रेल रेसमा विभिन्न जिल्लाका ५१ जना महिला छन् । जसमा १७ देखि ६० वर्षसम्मका छन् ।

Source : https://newsofnepal.com/2024/10/19/674107/