चियाको निर्यात बढ्दा अलैँचीको निर्यात घट्यो

काठमाडौँ । चियाको निर्यात बढ्दा अलैँचीको निर्यातमा गिरावट आएको छ । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१-८२ को पहिलो त्रैमासिकमा चियाको निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा ६४२६.७६ मेट्रिक टन चिया निर्यात भएको हो ।

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५०.८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । चालु आवको पहिलो तीन महिनामा रु एक अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको छ । आव २०८०-८१ को सोही अवधिमा रु एक अर्ब १३ करोड ५९ लाख ९४ हजार बराबरको चिया निर्यात भएको थियो ।

त्यस्तै, भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताएका छन् । चिया निर्यातमा सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।

कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१-८२ को पहिलो त्रैमासिकमा अलैँचीको निर्यातमा ४९ प्रतिशतले गिरावट आएको छ । चालु आवको तीन महिनामा ७८३.७५ मेट्रिक टन अलैँची निर्यात भएको छ । आव २०८०-८१ को सोही अवधिमा १५२५.९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कानुसार प्लाइउड, अम्रिसो र भेनीयर सिटको परिमाण क्रमश: २५, ३९ र एक सय ६६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अदुवा, छुर्पी, फलाम, तरकारीलगायत वस्तुको निर्यातमा कमी आएको छ ।

Source : https://arthasarokar.com/2024/10/tea-8.html



Related Posts