धवलागिरि आरोहणको क्रममा ५ रुसी आरोहीको मृत्यु

“चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे । दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धवलागिरि चुम्नका लागि अनुकूल मौसमको पर्खाइमा छौँ” ।

रुसी पर्वतारोही अलक्जेन्डर डसिकाले सन् २०२४ को सेप्टेम्बर २३ अर्थात् यही असोज ७ गते सामाजिक सञ्जाल ‘इस्टाग्राम’मा धवलागिरि चढ्दै गरेको तस्बिरसहित आरोहणसम्बन्धी माथीको सन्देश जानकारी गराउनुभएको थियो ।

संसारको सातौँ ८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि आएका १४ जना रुसी पर्वतारोहीको नेतृत्वकर्ता डसिकाको यो नै अन्तिम सन्देश बन्न पुग्यो ।

यही असोज २१ गते अर्थात् अक्टोबर ६ तारिखका दिनदेखि आरोही एकाएक सम्पर्कविहीन भएपछि समाजिक सञ्जालमा बधाई तथा शुभकामना दिइरहेका आफन्त तथा शुभेच्छुकहरू निराश बने ।

धवलागिरिको चुचुरो चुम्न १ सय ६७ मिटरमात्र बाँकी रहेको अवस्थामा असोज २१ गते दिउँसो ११ बजे आधार शिविरमा रहेको टोलीलाई फर्कन लागेको जानकारी गराएका डसिकासहित पाँचजना आरोही सम्पर्कविहीन भएको दुई दिनपछि असोज २३ गते ७ हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिए ।

अतिरिक्त अक्सिजनको प्रयोगबिना धवलागिरि आरोहण गर्न आएका डसिका, ओलेग क्रुग्लोभ, भाल्दिमिर किस्टिकोभ, मिखाइल नोसेन्को र दिमित्री स्पिलेभोइ अन्ततः धवलागिरिमै अस्ताए ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा खसेर ज्यान गुमाएका पाँचै जनाको शव १० दिनपछि बुधबार निकालिएको छ ।

एयर अल्टिच्युडको हेलिकप्टरबाट रसीमा झुण्डिएर घटनास्थलमा पुगेका सेभेन समिट टे«क्सका सञ्चालक मिङ्मा शेर्पासहितको टोलीले शव उठाएर इटली आधार शिविरमा ल्याएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले आधार शिविरबाट शवलाई काठमाडौँस्थित शिक्षण अस्पतालमा लगिएको बताउनुभयो ।

“मौसमको खराबी र प्रतिकूल भूगोलका कारण घटनास्थलबाट शव सङ्कलन गरेर ल्याउन ढिलाइ भएको हो । यसअघि दैनिकजसो शव ल्याउन गएका हेलिकप्टर रित्तै फर्किएका थिए ।

उद्धारकर्ताहरूको अथक प्रयासपछि हेलिकप्टरबाट रसीमा झुण्डिएर शव ल्याउनुभयो”, उहाँले भन्नुभयो ।

आइएम टे«किङ एण्ड एक्सिपडिसनमार्फत १४ जना रुसी पुरुष पर्वतारोहीहरू धवलागिरि हिमाल आरोहणका लागि गएका थिए ।

सो टोलीका डेनिस एलेक्सोन्को र आर्टस्योम तेसेन्त्सेभिल्स्लीले भने धवलागिरिको सफल आरोहण गरेका आरोहण गराउने कम्पनी एक्सपिडिसनले जनाएको छ ।

कम्पनीका अनुसार छ जना पर्वतारोही बीचमै आरोहण रद्द गरेर फर्किएका थिए । आरोही समूहका एकजना भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौँ लगिएको थियो ।

चौथो क्याम्पमा पुगेपछि माथि जान अप्ठेरो भएका कारण उहाँले आरोहण रद्द गरेका जनाइएको छ । जिल्लाको धवलागिरि गाउँपालिका–४ मा पर्छ ।

Source : https://www.khasokhas.com/210833