नेपालले भोलीदेखि अमेरिकासँग टि–२० सिरिज खेल्दै

काठमाडौं– नेपाल र अमेरिकाबीचको टी–२० सिरिज शुक्रबारदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेल टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा नेपाली समयअनुसार भोलि बिहान पौने ६ बजे सुरु हुँदैछ ।

नेपालले पहिलो पटक अमेरिकासँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यसअघि टी–२० विश्वकपको वामअप खेल नेपाल र अमेरिकाबिच तय भएपनि वर्षाका कारण खेल रद्द भएको थियो ।

यी दुई देश यसअघि ओडिआईमा भने ७ खेलमा भिडिसकेका छन् । ती मध्ये ४ खेलमा नेपालले जित निकालेको थियो भने दुई खेल अमेरिकाले आफ्नो नाम गरेको थियो भने एउटा खेल नतिजाबिहिन बनेको थियो ।

नेपालले अमेरिकासँग ३ टी–२० खेल खेल्नेछ । दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ । टी–२० सिरिज लगत्तै नेपालले अमेरिका र स्कटल्यान्डसँग लिग–२ अन्तर्गतको एकदिवसीय सिरिज खेल्नेछ ।

लिग–२ मा खराब प्रदर्शन गरिरहेको नेपालका लागि यो सिरिज एकदमै महत्वपूर्ण र चूनौतीपूर्ण छ । ८ खेलमा नेपालले मात्र एक खेलमा जित हासिल गरेर नेपाल सातौँ स्थानमा छ । ८ खेलमा ६ जितसहित अमेरिका दोस्रो र ७ खेलमा ४ जितसहित स्कटल्यान्ड पाँचौं स्थानमा छ ।

विश्वकप क्वालिफायर खेल्न र एकदिवसीय मान्यता जोगाइराख्न शीर्ष ४ मा अटाउनुपर्ने हुन्छ । लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको अमेरिका र बलियो स्कटल्यान्डलाई हराउन नेपालको लागि चुनौती रहेको छ ।

Source : https://onlinetvnepal.com/2024/10/184870/