प्रधानमन्त्री इशिबाले पाँच दिनमा दोस्रो पटक गराए स्वास्थ्य जाँच
टोकियो – जापानका प्रधानमन्त्री शिगेरु इशिबाले बुधबार स्वास्थ्य परीक्षण गराएका छन् । भर्खरै औपचारिक रूपमा प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका इशिबाले पाँच दिनभित्र दोस्रो पटक स्वास्थ्य परीक्षण गराएका हुन् ।
यसअघि उनी यसै हप्ता संसद्को सत्रको क्रममा निदाएको जस्तो देखिएका थिए, जसले उनको स्वास्थ्यप्रति चिन्ता उत्पन्न गरेको थियो । सरकारका प्रमुख प्रवक्ताले ६७ वर्षीय प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या नरहेको भन्दै आश्वस्त पारेका छन् । लिबरल डेमोक्रेटिक पार्टी र त्यसको सहायक गठबन्धन साझेदारहरूले गत अक्टोबर २७ को आम निर्वाचनमा आफ्नो बहुमत गुमाएका थिए ।
मुख्य क्याबिनेट सचिव योशिमासा हायाशीले बुधबार एक पत्रकार सम्मेलनमा इशिबाले टोकियोको स्वास्थ्य केन्द्रमा करिब ३० मिनेट लामो स्वास्थ्य परीक्षण गराएको बताए । उनकाअनुसार परीक्षणले प्रधानमन्त्रीको आधिकारिक जिम्मेवारीमा कुनै असर पारेको छैन ।
उनी गत शनिबार पनि टोकियोको एक अस्पतालमा झन्डै १ घण्टा ५० मिनेटको स्वास्थ्य जाँचका लागि भर्ना भएका थिए । बुधबार फेरि स्वास्थ्य जाँच गराउनुको कारणबारे सोध्दा हायाशीले भने, ‘यो पहिले नै निर्धारण गरिएको नियमित स्वास्थ्य परीक्षण हो भन्ने मैले जानकारी पाएको छु ।’
The post प्रधानमन्त्री इशिबाले पाँच दिनमा दोस्रो पटक गराए स्वास्थ्य जाँच appeared first on Samudrapari.