युक्रेनी राष्ट्रपति जेलेन्स्कीको विजय योजनामा ठोस रणनीति नआएको अमेरिकाको प्रतिकृया

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संसदमा बहु प्रतिक्षित विजय योजना प्रस्तुत गरेका छन् । जसको उद्देश्य देशको स्थितिलाई सुदृढ बनाएर रुससँगको युद्ध अन्त्य गर्नु हो ।

जेलेन्स्कीले कीभको संसदलाई भनेका छन् कि यो योजनाले २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा गरेको पूर्णस्तरीय आक्रमणबाट सुरु भएको युद्ध अर्को वर्षसम्म समाप्त गर्न सक्छ ।

यस योजनाका मुख्य तत्वहरूमा नेटोमा औपचारिक निमन्त्रणा, पश्चिमी हतियारहरूको प्रयोगमा रहेको रोक हटाउन सहयोगीहरूको सहयोग, युक्रेनको सम्प्रभुता र भूभागको कुनै सम्झौता नगर्ने प्रतिज्ञा, र रुसको पश्चिमी कुर्स्क क्षेत्रमा युक्रेनको सैन्य आक्रमणको निरन्तरता समावेश छन् ।

रुसले यो योजनालाई अस्विकार गर्दै युक्रेनलाई समझदार बन्न आवश्यक रहेको बताएको छ । सांसदहरूलाई सम्बोधन गर्दै जेलेन्स्कीले चीन, इरान र उत्तर कोरियालाई रुसको समर्थन गरेको भन्दै आलोचना गरे र उनीहरूलाई अपराधीहरूको गठबन्धन भन्दै आरोप लगाए ।

उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पागल भएको बताउँदै, युद्ध लड्नैका लागि उनी दृढ रहेको दाबी गरे । जेलेन्स्कीले आफ्नो विजय योजना युरोपेली संघको शिखर सम्मेलनमा प्रस्तुत गर्ने घोषणा पनि गरेका छन ।

के छ त विजयी योजनामा ?

युक्रेनलाई नाटो सैन्य गठबन्धनमा सामेल गराउने ।

रुसको शक्तिसँग लड्न युक्रेनी सुरक्षालाई सुदृढ पार्ने, जसमा पश्चिमी दीर्घकालीन हतियारहरूको प्रयोगको अनुमति प्राप्त गर्ने ।

युक्रेनी भूभागमा आणविक नभएको रणनीतिक प्रतिरोधको प्याकेज प्रयोग गरी रुसलाई नियन्त्रण गर्ने ।

युक्रेनको महत्त्वपूर्ण प्राकृतिक स्रोतहरूको संयुक्त सुरक्षा र अमेरिकी तथा युरोपेली आर्थिक क्षमताको संयुक्त उपयोग ।

युद्धपछि युरोपमा तैनाथ अमेरिकी सेनाको केही भागलाई युक्रेनी सेनाले प्रतिस्थापन गर्ने ।

जेलेन्स्कीले योजनामा तीन गोप्य थप बुँदा पनि रहेको बताए, तर ति बुँदालाई युक्रेनका साझेदारहरूसँग मात्रै बताउने उनले बताए । युक्रेनका अधिकांश बासिन्दाहरूले यो योजनालाई समर्थन गरेको बताइरहेका छन् ।

यो योजना सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि प्रस्तुत गरिएको थियो । ब्रिटेन, फ्रान्स, इटाली र जर्मनीजस्ता प्रमुख सहयोगीहरूलाई पनि देखाइएको रिपोर्ट गरिएको छ ।

अमेरिकी अधिकारीहरूले यस योजनालाई ठोस रणनीति नभएको र यो केवल थप हतियारहरूको माग भएको आरोप लगाएका छन् । तर जेलेन्स्कीले कुनै भूभाग सुम्पने सम्भावना अस्वीकार गरेका छन्।

Source : https://www.khasokhas.com/210837