वडा टेबलटेनिसको मुख्य प्रायोजकमा खड्गी
काठमाडौं ।
स्पिन इभेन्ट्सको आयोजनामा हुने चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगितालाई अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गीले मुख्य प्रायोजन गर्ने भएका छन् ।
त्यस्तै दि ह्यानडीक्राफ्ट र ईटीटी क्लबले सह–प्रायोजन गर्नेछन् । आयोजकले बुधबार तीन पक्षसंग सम्झौता पनि गरेको छ । मुख्य प्रायोजनवापत उपाध्यक्ष खड्गीले ५ देखि १० लाख रुपैयाँ सहयोग गर्ने जानकारी दिए । दोश्रो संस्करणमा भने खड्गी सह–प्रायोजक थिए । संघको तत्वावधानमा प्रतियोगिता मंसिर ११ देखि १५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
प्रतियोगिताको मेन्स-वुमेन्स टिम इभेन्ट्स, भेट्रान टिम (४० वर्षमाथि) का शीर्ष तीन खेलाडी (तेस्रो हुने दुई) लाई शिल्ड प्रदान गरिनेछ । मेन्स-वुमेन्स सिंगल्स इभेन्ट्सका शीर्ष तीन (सेमिफाइनलिष्ट) खेलाडीले क्रमशः ३० हजार, १५ हजार र ७५ सय नगद पुरस्कार पाउनेछन् ।
१६ वर्ष मुनिका ब्वाइज र गल्र्स सिंगल्स तथा भेट्रान्स सिंगल्समा पहिलो, दोस्रो र तेस्रो (सेमीफाइनलिस्ट) हुने खेलाडीले क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय नगद पुरस्कार प्राप्त गर्नेछन् ।