सलमानले कालो हरिण मारेको सम्बन्धमा पूर्वप्रेमिकाको स्पष्टोक्ति

एजेन्सी ।

बलिउड अभिनेता सलमान खान पछिल्लो समय कडा सुरक्षा घेरामा छन्। सलमानमाथि लरेन्स ग्याङबाट पटकपटक ज्यान मार्ने धम्की आइरहेका बेलामा गतशनिबार उनीसँग निटक भारतको महाराष्ट्रको दल एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका पूर्वमन्त्री बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको थियो।

लरेन्स ग्याङले यसको जिम्मेवारी लिएपछि सो घटनाका कारण सलमानको सुरक्षा बढाइएको छ। लरेन्स ग्याङबाटै सलमानलाई पटकपटक ज्यान मार्ने धम्की आउनुका साथै गतअप्रिल १४ मा सलमानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टमा बमसमेत बिस्फोट गराइएको थियो।

यी सबैका पछाडिका कारण भने सन् १९९८ मा दुर्लभ जनावर कालो हरिणको हत्यासँग सम्बन्धित छ। सो समयमा फिल्म सुटिङका क्रममा पश्चिम राजस्थानमा दुई हरिणको शिकार गरेपछि उनलाई सो मामलामा अदालतले दोषी ठहर गरेको थियो भने उक्त अभियोग लागेका अन्य चार कालाका सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे र निलमलाई जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको थियो।

सलमानको सो घटनालाई लिएर विस्नोई समुदायका ग्याङस्टार लरेन्स विस्नोई र उनको समूहले भने सलमानलाई आफ्नो समुदायले पूजा गर्ने कालो हरिण मारेर विस्नोई समुदायको उपेक्षा गरेको आरोपमा ज्यान मार्ने धम्की दिँदै आएको छ।
यसैबीच सलमानकी पूर्वप्रेमिका सोमी अली खानले भारतीय सञ्चार माध्यम आजतकस“गको कुराकानीमा सलमानले विस्नोई समुदायले कालो हरिणको पूजा गर्छन् भन्ने थाहा नभएका कारण अन्जानमा कालो हरिण मारेको बताएकी छन्।

‘सलमानलाई सिकार खेल्न निकै शोख थियो। यस कारण उनी बेलाबेलामा सिकारमा निस्किन्थे। म पनि उनीस“ग जाने गर्थे“। तर, मलाई जनावरको हत्या गरेको मन पर्दैनथ्यो। त्यही कारण म भएका बेला उनले जनावर मार्न पाउँदैनथे। उनले कालो हरिणको सिकार गरेका दिन म उनीसँग गएको थिइनँ,’ उनले पुरानो घटना सम्झँदै भनेकी छन्।

सोमीले सलमानले कालो हरिणलाई विस्नोई समुदायले पुज्ने गरेको थाहा नभएको र अन्जानमा गल्ती गरेका कारण त्यसलाई गल्ती मान्न नमिल्नेसमेत बताएकी छन्। सोमीले आफ्नो सलमानस“ग लिनुदिनु केही नभएको र पछिल्लोपटक सन् २०१२ मा उनका साथ कुराकानी भएको समेत बताएकी छन्। ‘मलाई हत्या,हिंसा मन पर्दैन म कसैको हत्या नहोस् भन्ने चाहन्छु,’ उनले भनेकी छन्। उनले आगामी नोभेम्बरमा लरेन्स विस्नोईका साथ भेट्नेसमेत बताएकी छन्।

सिद्दिकीको हत्यापछि बान्द्रास्थित सलमानको ग्यालेक्सी अपार्टमेन्टबाहिर सुरक्षा बढाइएको छ भने उनका निजी सुरक्षाकर्मीका साथ थप प्रहरी टोलीसमेत तैनाथ गरिएको छ। त्यस्तै, उनी जाने स्थानमा पनि पहिल्यै नै प्रहरीलाई खबर गर्ने गरिन्छ।

Source : https://newsofnepal.com/2024/10/22/674617/