साफ महिला च्याम्पियनसिप: श्रीलङ्कासँग भिड्दै नेपाल

काठमाडौं ।

साफ महिला च्याम्पियनसिप अन्तर्गत आज समूह बी का दुई खेल हुँदै छन्। आज पहिलो खेलमा मालदिभ्स र भुटान भिड्दै छन् भने दोस्रो खेलमा नेपाल र श्रीलङ्का खेल्ने तालिका रहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेल अपराह्न साढे एक बजेदेखि सुरु हुने छ भने दोस्रो खेल साढे ५ बजेदेखि सुरु हुने छ।

समूह बी मा हाल नेपाल २ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने भुटान पनि ४ अङ्कसहित दोस्रो स्थानमा छ। त्यस्तै श्रीलङ्का २ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ। अहिलेसम्म तिनै देशको सेमिफाइनलको सम्भावना कायमै रहेको छ। नेपालका लागि भने श्रीलङ्कासँग बराबरी खेले मात्र पनि सेमिफाइनलको यात्रा निश्चित हुने छ।

त्यस्तै समूह बी को मालदिभ्स भने २ खेलमा दुवै खेल हारेर सेमिफाइनलको दौडबाट यसअघि नै बाहिरिएको छ। जारी प्रतियोगितामा समूह ए बाट बङ्गलादेश र भारत सेमिफाइनलमा पुगिसकेका छन् भने पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ।

Source : https://newsofnepal.com/2024/10/24/674960/