एनसेलद्वारा नेपाल प्रिमियर लिग-२०२४ को ‘पावर्ड बाई’ प्रायोजनका लागि समझदारी
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को लागि एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच साझेदारीको घोषणा भएको छ । प्रायोजन सम्बन्धी साझेदारीअन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरुको विकासमा योगदान पुऱ्याउने विश्वास लिइएको छ ।
व्यावसायिक फ्रेन्चाइजमा आधारित टी-२० प्रतियोगिता एनपीएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आवद्ध भएको छ । यसका लागि गत हप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ । क्रिकेट भारतीय उपमहाद्वीपकै सबैभन्दा बढी लोकप्रिय खेलकुद मध्ये एक हो । यो एनपीएलको विशेषता भनेको अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि सहभागीता हो र अन्तर्राष्ट्रिय खेलकुद टिभी च्यानलमार्फत पनि यसको प्रत्यक्ष प्रसारण हुनेछ ।
यो साझेदारी केवल नेपालमा खेल प्रतिभा प्रवर्द्धन गर्नका लागि मात्र नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि भएको एनसेलले जनाएको छ । यो सहकार्य संसारभर छरिएर रहेका नेपाली दर्शकहरूको खेलप्रतिको माया र समर्थनको भावना स्वीकार अवसर पनि हो, जसले हालैका विश्वव्यापी प्रतियोगिताहरूमा थुप्रै प्रशंसाहरु बटुलेका छन् ।
एनसेलले आफ्ना ग्राहककालागि लाइभ स्क्रिनिङ् मार्फत एनपीएलका खेलहरु आफु जहाँ भएपनि हेर्न सकिने सुविधा प्रदान गर्नेछ । यसका साथै एनसेलले खेल मैदानमा विभिन्न गतिविधिहरु आयोजना गर्दै यो प्रतियोगिताभरी ग्राहकहरुकालागि विभिन्न योजनाहरु पनि ल्याउने जनाएको छ ।
मंसिर १५ गते देखि पौष ६ गते सम्म नेपालमा सञ्चालन हुने यो प्रतियोगितामा आठ टिमका १६० खेलाडीहरूले कुल ३२ रोमाञ्चक खेलमा समावेश हुनेछन् । सबै खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछ । आठ टिमहरूले राउन्ड–रोबिन फर्माटमा प्रतिस्पर्धा गर्नेछन्, जसमा प्रमुख शहरहरू विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्ने टिमहरू छन् ।