रविलगायत रास्वपाका कार्यकर्ता बिहानदेखि नै पार्टी कार्यालयमा भेला

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित दलका नेताहरू वनस्थलीस्थित पार्टी कार्यालयमा भेला भएका छन् ।

सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि सभापति लामिछानेलाई पक्राउ गर्ने तयारीमा सरकार छ । पूर्व डीएसपी छविलाल जोशीलाई आइतबार पक्राउ गरेर पोखरा लगेपछि सरकारले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको हो ।

विभिन्न सहकारीमा भएको बचत अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालकको हैसियतमा लामिछानेलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेबमोजिम प्रहरीले पक्राउको तयारी गरेको छ । विभिन्न ५ सहकारीको ६५ करोडभन्दा बढी रकम गैरकानुनी ढंगले गोरखा मिडियामा लगेर खर्च गरेकोमा लामिछानेका पूर्वव्यावसायिक साझेदार एवं तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले हिजै पक्राउ गरिसकेको छ । गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई भने फरार छन् ।

आइतबार रातिनै पक्राउ गर्नेगरि सादा पोशाकका प्रहरी पार्टी कार्यालयमा खटाईएको थियो । तर,राजनीतिक व्यक्ति भएको र तत्काल भागेर जाने सम्भावना नभएपछि प्रहरी यसै फर्किएको थियो । रविलाई कानूनी प्रक्रिया पूरा गरेरनै पक्राउ गर्ने प्रहरीको तयारी छ ।

 

Source : https://onlinetvnepal.com/2024/09/183842/



Related Posts