त्रिविको ११ सय रोपनी जग्गा अतिक्रमण

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपत्यकामा मात्रै १हजार १ सय रोपनी जग्गा अतिक्रमण भएको पाइएको छ । त्रिविको जग्गा सम्पत्ति खोज्न गठित समितिका संयोजक महेन्द्रबहादुर थापाले हालसम्म १ हजार १ सय रोपनी जग्गा अधिक्रमण भएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को असोज २ गते सम्पन्न बैठकले समितिका सदस्य थापालाई संयोजकको जिम्मेवारी दिएको थियो । समितिका संयोजक एवं पूर्व सचिव सारदाप्रसाद त्रितालको स्वाथ्यको कारण थापालाई संयोजकको जिम्मेवारी दिएको थियो । बैठकले सो समितिको म्याद २ महिना थपेको छ ।

समितिले जग्गा खोज्ने विषयमा सरोकारवालासँग छलफल गरी प्रतिवेदन लेखन शुरू गरेको छ । संयोजक थापाले जग्गा खोज्ने क्रममा करिब १हजार १ सय रोपनी अतिक्रमित भएको बताउनुभयो । उहाँका अनुसार नैकापमा १ सय २५, ल्याब स्कुलले १ सय ८, वागवानी केन्द्रले २ सय ८, त्रिवि प्राध्यापक र कर्मचारी संघ, प्रहरी, केयुकेएल, बल्खुस्थित केही स्थानीय र अन्य निकायले त्रिविको जग्गा हडपेका छन् ।

समितिले लुभु र कपन गरी दुई स्थानको जग्गा खोजी जारी राखेको छ। संयोजक थापाले त्रिविका पूर्व पदाधिकारी, ल्याब स्कुलका प्रअलगायत सरोकारवालासँग सोधपुछ गरी जग्गाको विवरण संकलन जारी राखेको जानकारी दिनुभयो।

समितिलाई कानुनी हैसियतको अधिकार नदिएको कारण जग्गा नापजाँच गर्न मुस्किल परेको छ। ‘तैपनि सकेसम्म उपत्यकामा अतिक्रमण भएका जग्गा खोजी गर्ने काम जारी रहेको छ–समितिका सदस्य प्रेमसागर चापागाइँले जानकारी दिनुभयो।


समितिले उपत्यकाका सबै क्याम्पसको जग्गा खोज्ने काम सकेको छ । जग्गा खोज्न थालेपछि सबै क्याम्पसले लालपुर्जा उपलब्ध गराएका छन् । कतिपय क्याम्पसले लालपुर्जालगायत सबै कागजात राख्नुपर्छ भन्दै संकलन गर्न थालेका छन्।
समितिले थपेको समयभित्र प्रतिवेदन बुझाउने गरी लेखन कार्य शुरू गरेको छ । संयोजक थापाले उपत्यकामा त्रिविको सबै जग्गा र सम्पत्ति खोजबिन गरी दुई महिनाभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ। त्रिविको जग्गा खोजबिनको क्रममा समितिले त्रिविका सबै पदाधिकारीलगायत उच्च अधिकारीसँग छलपफल सकेको छ।

अब जग्गा कसरी प्राप्ति गर्ने ? भन्ने विषय महत्वपूर्ण छ, संयोजक थापाले भन्नुभयो । उहाँका अनुसार अतिक्रमण भएका सबै जग्गाको विवरण प्रतिवेदनमा उल्लेख गरी सिफारिस हुनेछ। समितिले सबैभन्दा ठुलो समस्या ल्याब स्कुलको देखेको छ। मन्त्रालयले सम्झौता गरेर विद्यालय सञ्चालन गर्न दिएका कारण समस्या झन् बल्झिएको हो।

त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले त्रिविको जग्गा खोज्ने प्रतिवद्धताअनुसार तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले समिति बनाउनुभएको थियो । पूर्व सचिव त्रितालको संयोजकत्वमा गठित समितिले जग्गा खोजबिन जारी राखेको बेला संयोजक त्रिताल अस्वस्थ भएपछि थापालाई संयोजकको जिम्मेवारी दिएको हो।

समितिले जग्गाको विवरण उतार्ने काम जारी राखेको छ। जग्गा खोजबिनको क्रममा केही समस्या परेको थापाको भनाइ थियो। उहाँका अनुसार त्रिविको जग्गा व्यक्तिसँगसमेत किनबेच हुने गरेको पाइएको छ।

Source : https://newsofnepal.com/2024/09/23/669412/