दुर्गा प्रसाईका समर्थकले झापामा तीन वटा ट्रक जलाए, दुई जना पक्राउ

समाचार सुन्नुहोस : 

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईको गिरफ्तारीपछि झापामा तनावपूर्ण अवस्था सिर्जना भएको छ। उनका समर्थकहरूले गएराति तीनवटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन्। पहिलो घटना राति ११ बजे बिरिङ पुल नजिक युपी ५७ एटी ४४९३ नम्बरको ट्रकमा भएको हो। त्यहाँ ४-५ जनाको अज्ञात समूहले आगो लगाई फरार भएका थिए। बिर्तामोड नगरपालिकाको दमकल टोली आएर आगो नियन्त्रण लिएको प्रहरीले जनाएको छ।

त्यस्तै, बिहान करिब ३ बजे बिर्तामोड नगरपालिका ६ गिरिबन्धु टिस्टेट नजिकै डब्लूबी ७३ ई ३०५७ नम्बरको ट्रकमा पनि आगजनी गरिएको थियो। ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समुहले ट्रकमा आगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ। आजै बिहान झापाको धाइजनमा डब्लूबी–७३ ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी भएको छ । यसैबीच, दुर्गा प्रसाईको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका दुई जना समर्थकलाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिहरूमा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान” का झापा संयोजक रामचन्द्र मैनाली र “नागरिक प्रतिरक्षा बल” (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन्।

The post दुर्गा प्रसाईका समर्थकले झापामा तीन वटा ट्रक जलाए, दुई जना पक्राउ appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/09/491217/