धनगढीको सिद्धनाथ माध्यमिक विद्यालयमा स्मार्टबोर्डबाट पठनपाठन सुरू

धनगढी । धनगढीको वडा नम्बर १२ स्थित सिद्धनाथ माध्यमिक विद्यालयमा स्मार्टबोर्डबाट पठनपाठन सुरू भएको छ । धनगढी उपमहानगरले नमुना विद्यालय घोषणा गरेको सिद्धनाथमा कक्षा १ देखि १० सम्म स्मार्टबोर्डका माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप गर्न थालिएको हो ।

सरकारी विद्यालयको पठनपाठन स्तरीय बनाउन र विद्यार्थीलाई प्रविधिको ज्ञान दिन स्मार्टबोर्डको प्रयोग गर्ने योजना बनाइएको हो । स्मार्टबोर्डको प्रयोगबाट शिक्षण गर्न निकै सहज भएको विद्यालयका शिक्षक तेजराज भट्टले बताए ।

उनले शिक्षकलाई शिक्षण गर्न तथा विद्यार्थीलाई बुझ्न स्मार्टबोर्ड निकै उपयोगी रहेको बताए । “स्मार्टबोर्ड जडानपछि हामीलाई पढाउन र कुरा बुझाउन निकै सहज भएको छ । विद्यार्थीले पनि शिक्षण सिकाइ क्रियाकलापमा रुचि देखाएका छन्,” उनले भने, “स्मार्टबोर्डले गर्दा कुनै कक्षामा शिक्षक नभएको अवस्थामा पनि विद्यार्थीले पढ्न र अभ्यास गर्न पाउने अवस्था निर्माण भएको छ ।”

नमुना विद्यालय सार्वजनिक बिदाको दिन पनि खुल्ने
धनगढी उपमहानगरपालिकाले नमुना घोषणा गरेका विद्यालयहरूले शनिवार बाहेकका सार्वजनिक बिदाको दिनसमेत पढाई हुने भएको छ । नगरपालिकासँग कार्यसम्पादन सम्झौता गर्दा नै नमुना विद्यालयहरूले अनावश्यक हुने सार्वजनिक बिदाको दिनसमेत विद्यालय चलाउने भन्दै वार्षिक कार्ययोजना बनाएका हुन् । विद्यार्थीको सिकाइमा सुधार सार्वजनिक विदाको दिनसमेत नियमित पठनपाठन हुने भएको छ ।

गत वर्ष नमुना घोषणा भएका धनगढीका पाँच विद्यालयले शनिवार बाहेक अन्य सार्वजनिक बिदाका दिनसमेत पठनपाठन गर्ने वार्षिक कार्ययोजना बनाएका हुन् । सार्वजनिक बिदाको दिनसमेत विद्यालयमा पठनपाठन गराएर हरेक कक्षाको नतिजा उत्कृष्ट ल्याउन विद्यालयका सबै शिक्षक कस्सिएर लागेको प्रधानाध्यापक प्रेमबहादुर शाहीले बताए । “हामीले नगरपालिकासँग गरेको वार्षिक कार्यसम्पादन सम्झौतामा समेत शनिवार बाहेकका सार्वजनिक बिदामा विद्यालय खोल्ने निर्णय गरेका छौँ ।

वार्षिक कार्ययोजना बनाउँदा नै अन्य विद्यालयको तुलनामा बढी दिन विद्यालय खोल्ने भएका छौँ,” उनले भने, “गत वर्ष कक्षा ८ को नतिजा केबल ७ प्रतिशत थियो, यो वर्ष सुधार भएर ६० प्रतिशत पुगेको छ । अझै सबै कक्षाको नतिजा उत्कृष्ट ल्याउने हिसाबले हामी सबैले मेहनत गर्नेछौँ ।”

ग्रामीण क्षेत्रका विद्यालयलाई नमुना बनाउन प्राथमिकता
धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नमुना घोषणा गर्दै भौतिक तथा शैक्षिक सामग्रीसहित विषयगत शिक्षकको व्यवस्थापन गर्ने भएको छ । ग्रामीण क्षेत्रका विद्यार्थीलाई समेत प्रतिस्पर्धी र क्षमतावान बनाउन ग्रामीण क्षेत्रका विद्यालयलाई हरेक वर्ष नमुना बनाउँदै लग्ने योजना उपमहानगरपालिकाको छ ।

सरकारी विद्यालयप्रतिको धारणामा परिवर्तन ल्याउन नमुना विद्यालयमा आधुनिक शैक्षिक सामग्री, भवन, फर्निचर र आवश्यक सबै सुबिधा उपलब्ध गराउने धनगढी उपमहानगरपालिकाको योजना रहेको नगर प्रमुख गोपाल हमालले बताए । “हाम्रो निर्वाचित टिमले ग्रामीण क्षेत्रका विद्यालयको सुधार गर्ने योजनाअनुसार नमुना विद्यालय घोषणा गरिएको हो । हरेक वर्ष पाँच वटाका दरले नमुना विद्यालय विकास गर्ने लक्ष्य छ,” उनले भने, “ग्रामीण क्षेत्रका बालबालिकाले नि:शुल्क स्तरीय शिक्षा हासिल गरेर अरु जस्तै प्रतिस्पर्धामा उत्रन सकून् भनेर नमुना विद्यालय घोषणा गरेर विद्यालयको शैक्षिक तथा भौतिक अवस्था सुधार गर्न खोजिएको हो ।”

ग्रामीण क्षेत्रका विद्यालयमा प्रविधिको प्रयोग
मङ्गलवार धनगढी उपमहानगरपालिकाले नमुना विद्यालय घोषणा गरेको वडा नम्बर १२ जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालयमा स्मार्टबोर्डबाट पठनपाठन गराउने कार्यको उद्घाटन गरिएको हो । नमुना विद्यालय घोषणा भएका धनगढीको ग्रामीण क्षेत्रका पाँच वटा विद्यालयलाई जनही १० वटाका दरले उपमहानगरपालिकाले स्मार्टबोर्ड वितरण गरेको थियो । आधुनिक प्रविधिको प्रयोगबाट प्रभावकारी शिक्षण सिकाइ गर्न नमुना विद्यालयका सबै कक्षामा स्मार्टबोर्डको माध्यमबाट शिक्षण सिकाई क्रियाकलाप गर्न थालिएको छ ।

धनगढीका नमुना घोषणा भएका विद्यालयमा प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई स पढाउन थालिएको छ। प्रविधिको प्रयोग गर्दै रम्दै विद्यार्थीले सिक्ने अवसर पाउँदा विद्यालयका अभिभावक खुसी भएका छन्। उपमहानगरपालिकाले विद्यालयलाई सबै किसिमको सहयोग गर्ने बताएको भन्दै विद्यालयको शैक्षिक अवस्था राम्रो बनाउन कुनै कसर बाँकी नराख्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसनदेव उपाध्यायले बताए ।

“नगरपालिकाले हामीलाई सहयोग गरेको छ। अझै थप सहयोग गर्नुपर्ने आवश्यकता छ। हामी पनि अभिभावक तथा व्यवस्थापन समितिको तर्फबाट विद्यालयलाई राम्रो बनाउन कुनै कसर बाँकी राख्ने छैनौँ,” उपाध्यायले भने ।

यो वर्ष पाँच विद्यालयलाई ५० स्मार्टबोर्ड वितरण
यो वर्ष मात्रै धनगढी उपमहानगरपालिकाले पाँच नमुना विद्यालयमा १० का दरले ५० वटा स्मार्टबोर्ड उपलब्ध गराएको छ । स्मार्टबोर्ड प्रयोग गरेर शिक्षण सिकाइ क्रियाकलाप गर्न शिक्षकहरूलाई तालिमसमेत दिइएको छ ।

The post धनगढीको सिद्धनाथ माध्यमिक विद्यालयमा स्मार्टबोर्डबाट पठनपाठन सुरू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95059/