दिल्लीबाट आएको जहाजमा बम भएको हल्लापछि खानतलासी सुरु

काठमाडौं– त्रिभुवन विमानस्थलमा अवतरण भएको एउटा जहाजमा बम रहेको हल्ला चलेको छ । भारत नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्लापछि प्रहरीले सर्च थालेको छ ।

भिस्टाराको जहाजलाई छुट्टै राखेर प्रहरीले सर्च गरिरहेको विमानस्थल स्रोतले बताएको छ । यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं ल्याण्ड भएको थियो । दिल्लीबाट बिमानमा बम भएको भन्दै फोन आएपछि सर्च थालिएको स्रोतले बताएको छ । काठमाडौं विमानस्थलमा अहिले उडान–अवतरण रोकिएको छ ।

बम राखेको खबर पाइएपछि नेपाली सेनाको कमान्डमा सुरक्षा निकायले जहाजको खानतलासी सुरु गरेको छ । बम रहेको भए पत्ता लगाउन प्रहरीले तालिम प्राप्त कुकुरको सहायता लिएको छ ।

पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिने क्रम बढेको छ ।

Source : https://onlinetvnepal.com/2024/10/185116/