प्रधानमन्त्री ओलीले कोट्याए भारतीय नाकाबन्दीका कुरा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नाकाबन्दीको सामना गर्दा आफू सरकारबाट बाहिर पुगेको भएपनि अहिले निर्वाचनको माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आएको बताएका छन् ।

आज (आइतबार) काठमाडौंमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आयोजना गरेको ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री ओली बेला बेलामा भारतीय नाकाबन्दीको कुरा कोट्याईरहन्छन् ।

यस्तै, उनले आजको सम्बोधनमा पनि भारतीय नाकाबन्दीको सामना गर्दा आफू सरकारबाट बाहिर पुगेको स्मरण गराए । उनले भने,‘नाकाबन्दीको सामना गर्दा हामी सरकारबाट बाहिर पुग्यौँ होला तर हामी कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आउँछौँ भनेको थियौँ र आयौँ पनि, एमाले र नेपाली काँग्रेससहित मिलेर बनेको यो सरकार राष्ट्रिय एकताको भावनाको रक्षा र देशको हितका लागि पूर्ण कटिबद्ध भएर काम गरिरहेका छ ।’

प्रधानमन्त्री ओलीले भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गर्दै राष्ट्रप्रति जनताको निष्ठापूर्ण भाव उत्पन्न हुनु राष्ट्रिय सुरक्षाको किल्ला भएको बताए ।केपी ओलीको साख घट्यो भन्ने प्रायोजित टिप्पणी भएको उनले बताए । आफू कति लोकप्रिय भन्ने कुरा २०८४ को चुनावमा देखाउने समेत जिकिर गरे ।

Source : https://onlinetvnepal.com/2024/10/185347/