बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानी प्राविधिक नेपाल आउने

बीपी राजमार्ग पुनः निर्माण गर्न जापानी प्राविधिक नेपाल आउने भएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भत्किएको १२ किमि सडक पुनर्निर्माणको अध्ययन गर्न टोली आउन लागेको जानकारी दिएका हुन्।

मन्त्री दाहालले १०० दिने प्रगति सार्वजनिक गर्दै भत्किएका सडकको सुचारु हुँदा धेरैले खुसी व्यक्त गरेको बताए।

‘हाम्रा ८० राजमार्गमध्ये ३९ राजमार्ग अवरुद्ध रहेका थिए’, मन्त्री दाहालले भने, ‘दसैँसम्म क्षतविक्षत भएको बीपी राजमार्गसहित सबै राजमार्ग सञ्चालनमा आए।’

बीपी राजमार्ग जापानकै सहयोगमा निर्माण भएकाले पुनः निर्माण गर्न चाहे सरकारले सकारात्मक रुपमा लिने बताए।

‘जापानले बनाइदिएको सडक भएकाले अहिले पनि उनीहरु आउँदै छन्। सडकको अवस्था बुझेर पुनर्निर्माण गर्छौं भन्ने प्रस्ताव आए हामी स्वीकार गर्छौं’, मन्त्री दाहालले भने, ‘उनीहरुले नबनाए सरकारी स्रोतबाटै निर्माण हुन्छ।’

मन्त्रालयले बाढी पहिरोले करिब ६ अर्ब बढी क्षति भएको अनुमान गरिए पनि पुनर्निर्माण गर्न १५ अर्ब १६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

The post बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानी प्राविधिक नेपाल आउने appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/24/100233/