म्याद थपका लागि रवि र छविलाई अदालत उपस्थित गराइयो

फाइल तस्बिर

पोखरा– पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ ।

हिरासतमा राख्न म्याद थपको लागि उनीहरूलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

उनीहरुको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ । कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माका अनुसार अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले म्याद थपका लागि अदालतमा पेस गरिएको हो ।

गत शुक्रबार रवि पक्राउ परेकै दिन पूर्व डिआईजी जोशीको गत असोज १७ गतेबाट लागु हुने गरी २० दिनको म्याद थप भएको थियो । कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागु हुने गरी ६ दिनको म्याद थप भएको थियो । उक्त म्याद सकिएर उनीहरुलाई आज अदालतमा उपस्थित गराइएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेको कार्यकक्षमा बुधबार रविको बयान लिइएको थियो । बयानमा रविले पोखराको सहकारीबाट ऋण नलिएको र रवि लामिछाने भनी उल्लेख भएको नाम आफ्नो नभएको दाबी गरेका थिए । उनले आफू गोरखा मिडियामा संलग्न भएको तर सहकारीको ऋणी भएर कहीँ पनि ऋण नलिएको दाबी गरेका छन् ।

Source : https://onlinetvnepal.com/2024/10/185189/