रवि लामिछाने प्रहरी हिरासतमा, सुरक्षा व्यवस्था कडा

पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि शुक्रबार काठमाडौंमा पक्राउ परी रातारात पोखरा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

कास्की प्रहरीले जिल्ला अदालत कास्कीबाट लामिछानेमाथि अनुसन्धान गर्न पक्राउ पूर्जीको अनुमति लिएको थियो । त्यसपछि सिआईबी सहयोगमा यहाँ ल्याएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको स्वास्थ परीक्षण गरी राति करिब ३ बजे प्रहरी हिरासतमा राखिएको हो ।

शनिबार सार्वजनिक बिदा परेकाले म्याद थपका लागि आइतबार मात्र कास्की जिल्ला अदालत उपस्थित गराइने छ ।

यतिखेर पोखरा ४, गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालयमा भने रास्वपाका नेता तथा कार्यकर्ताको चहलपहल छ । शनिबार पोखरामा रास्वपाले शक्ति प्रदर्शनको तयारी गरेको छ । रविलाई हिरासत छिराउनु पूर्व पनि प्रहरी कार्यालय अघि पनि ओली सरकारको दमन भन्दै गएराति रविको पक्षमा नाराबाजी गरिएको थियो । रास्वपामा नेता डा. स्वर्णिम वाग्ले, डिपी अर्याल, रवि पत्नी निकिता पौडेलले हिरासतमा रविलाई भेटेका थिए ।

रास्वपाले पार्टी सभापतिलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको र सो पक्राउविरुद्ध शनिबार बिहान ११ बजेपछि पोखरा चिप्लेढुंगास्थित मानवअधिकार चोकमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसका लागि रास्वपाका काठमाडौं, चितवन, कास्कीसहित छिमेकी जिल्लाका कार्यकर्ता पोखरा आउने क्रम जारी छ ।

सम्भावित अप्रिय घटना हुन नदिन प्रहरी कार्यालय परिसर, जिल्ला अदालत, सिडियो कार्यालय तथा पोखराका मुख्य चोकचोकमा ठूलो संख्यामा प्रहरी परिचालित छ । त्यस खण्ड हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई समेत चेकजाँच गरिएको छ । सवारी साधन रोकेर सोधपुछ गर्ने गरिएको छ ।

प्रहरी कार्यालय अघिका चिया पसलहरूमा मानिसहरू अनेक आकलनसहित गफ गरिरहेको भेटिन्छन् ।

लामिछानेमाथि पोखरामा प्रधान कार्यालय रहेको सूर्यदर्शन सहकारीसहित विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोप छ । लामिछाने गोर्खा मिडियामा करिब १६ महिनासम्म कार्यकारी निर्देशक पदमा रहेकोमा राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका हुन् । चितवनबाट लोकप्रिय मत सहित प्रतिनिधिसभाको चुनाव जितेर सांसद बनेका उनी छोटो समयमै गृहमन्त्री तथा उपप्रधानमन्त्री पदमा पुगेका थिए ।

The post रवि लामिछाने प्रहरी हिरासतमा, सुरक्षा व्यवस्था कडा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102382/