सत्ताकेन्द्रित खेल नदोहोरियोस्

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र यतिखेर आन्दोलनको मुडमा छ। सत्ताबाट अनायास बाहिरिनुपरेको पीडाले छटपटिएको माओवादी कहिले विपक्षी मिलाउने अभियानमा सामेल भएको छ भने कहिले सत्ता साझेदार दल नेपाली कांग्रेसका नेतासँग मिलेर गठबन्धन भत्काउनुपर्‍यो भन्दै अनुनय–विनय गरेका समाचार प्रकाशित भएका छन्।

सत्ताबाट बाहिरिनुपरेको पीडामा रहेको माओवादीले आउँदो कार्तिक १० गते राजधानीमा जनप्रदर्शन गर्ने घोषणा गरेको छ। सत्ताबाहिर बस्ने बानी हटेको माओवादीलाई पाखा लगाएर दुई मुख्य दलले सरकार गठन गरेपछि यतिखेर पीडामा रहेका माओवादीहरु जसरी पनि अहिलेको गठबन्धन ढाल्ने र आफूहरुसहितको सरकार बनाउने खेलमा सामेल हुन थालेका छन्। यसले नेपालको राजनीतिमा थप अस्थिरता आउने हो कि भन्ने आशंकासमेत गर्न थालिएको छ । मुलुकलाई अस्थिरतातर्फ लैजान जस–जसले खेल खेलिरहेका छन् यसले पक्कै पनि कसैको हित गर्नेछैन ।

अहिले देश कता जाने हो भन्ने आशंका पैदा भएको छ । वर्तमान सरकार बनेदेखि नै सरकार ढल्ने हल्ला चलाएर विपक्षी गठबन्धनलाई एक ठाउँमा ल्याई होहल्ला गर्न सफल भएका माओवादीका अध्यक्ष प्रचण्डले अहिले देशी–विदेशी शक्तिको प्रयोग गरी सत्ता ढाल्ने खेलमा लाग्नु पक्कै पनि मुलुकको लागि राम्रो होइन। राजनीतिक दलप्रति जनताले वैरीभाव जनाइरहेको बेला पुराना दलहरुले गर्ने यस्ता हर्कतले जनतामा थप निरासा जन्माएको छ।

अहिलेको व्यवस्थाविरुद्ध सक्रिय एक समूहलाई नै मलजल पुग्ने गरी जसरी काम भइरहेको छ यसले मुलु्कको अस्तित्वमाथि नै प्रश्न उठ्न थालेको छ । व्यक्तिगत स्वार्थ र कुण्ठाबाट ग्रसित नेपाली राजनीतिलाई ठेगानमा ल्याउने समूह नआएसम्म जनताले यस्तै दुःख पाउने निश्चितजस्तै देखिन्छ ।

ठूला दल मिलेर सरकार गठन गरे पनि अहिलेसम्म जनतालाई सम्बोधन गर्ने कुनै कार्यक्रम ल्याउन नसक्नुले पनि कांग्रेस–एमाले मिलेर बनेको सरकारप्रति समेत जनताको भरोसा हराउन थालेको छ। सरकारले मुलुकमा रोजगारी र्सिजना गर्न नसकेपछि हरेक दिन रोजगारीका लागि युवाहरु पलायन हुने क्रम बढेको छ।

यसले दीर्घकालमा मुलुकको विकासमा ठूलो असर पार्ने देखिन्छ । तर पनि राजनीति गर्नेहरुले नयाँ भिजन ल्याउन नसक्नु अर्को दुःखद पक्ष मान्नुपर्दछ। नेतालाई दोष दिएर उम्कन खोज्ने हाम्रो कर्मचारी संयन्त्रभित्रको भ्रष्ट आचरण मुलुक विकासको अर्को बाधक तत्वको रुपमा लिनुपर्ने हुन्छ।

कर्मचारी संयन्त्र पैसाविना कुनै काम नै नगर्ने भएपछि यसले मुलुकको विकासमा गम्भीर असर पारेको देखिन्छ। तर पनि यहाँ एकले अर्कालाई गाली गर्ने र पानीमाथिको ओभानो हुने प्रवृत्तिको अन्त्य नभएसम्म राजनीति सुध्रने देखिँदैन। त्यसैले सबै दल सत्ताकेन्द्रित हुनुभन्दा पनि मुलुकको हितका लागि लाग्नुपर्ने देखिन्छ।

Source : https://newsofnepal.com/2024/10/23/674764/