समर्थक खोज्दै रास्वपा, अनुसन्धान नबिथोल्न पीडितको चेतावनी

पोखरा ।

पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलनलाई जारी राखेको छ । संगठित अपराधमा सभापति रवि लामिछाने पक्राउ परेपछि शनिवारदेखि निरन्तर रास्वपा विरोधमा उत्रिएको छ । रास्वपाका केन्द्रीय नेताहरू नै पाँच दिनदेखि पोखरामा छन् ।

रविको समर्थनमा पोखरेलीको साथ नपाएपछि यति बेला रास्वपा विरोध गर्नका लागि समर्थकको खोजीमा हिँडिरहेको छ । हरेक दिनको आन्दोलनमा आफूहरूलाई साथ दिन अनुरोध गरिरहेको छ। त्यति मात्र होइन हरेक चोकचोकमा रास्वपाले एक–एक जना नयाँ व्यक्तिलाई खडा गर्दै आफूहरूलाई साथ र समर्थन मिलेको दाबी गर्दै आइरहेको छ।

लामिछाने पक्राउपश्चात् सहकारी पीडितको मुद्दा अब आफूहरूले उठाउने बताइरहेको रास्वपाको विरोधमा पुनः सूर्यदर्शन सहकारी उभिएको छ। बुधबार नै सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा, सहकारी बचत पीडित संघ कास्कीले अदालतमा विचाराधीन रहेको अवस्थामा र सहकारी ठगी प्रकरणमा जोडिएका व्यक्तिमाथि निष्पक्ष छानबिन गर्नुपर्ने भन्दै पीडितको घरमै पुगी बचतकर्तालाई भड्काउने काम बन्द गर्न चेतावनी दिएका छन् ।

उनीहरूले अदालतलाई नै प्रभाव पार्ने गरी रास्वपाले पार्टी सभापति बचाउ अभियानको चर्को नाराको दबाब र प्रभावमा अनुसन्धान र अदालतमा परेको कारण सहकारी पीडित पनि सडकमा आउन बाध्य भएको बताएका छन्।

लामिछानेविरुद्ध १० महिना अघिमात्रै किटानी जाहेरी परेको थियो। सूर्यदर्शन सहकारीबाट पीडित भएका कृष्णप्रसाद जैसीलगायतले किटानी जाहेरी दिएका थिए। तर, लामिछानेलाई भने सूर्यदर्शन सहकारीका पीडितहरूले अन्यायमा परेको भन्दै न्याय माग्न दुई वर्षअघि नै पुगेको विज्ञप्तिमा उल्लेख छ।

किटानी जाहेरी दिनुभएको कृष्ण जैसीले लामिछानेविरुद्ध आवाज उठाउँदा आफूलाई सुरक्षा थ्रेड भएको बताउनुभयो। उहाँले लामिछाने गृहमन्त्री हुँदा आफूलाई रेखी गर्दै ज्यानको सुरक्षा नभएपछि राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएको बताउनुभयो। उहाँले सहकारी पीडितको पक्षमा नलाग्नु दुःखको कुरा रहेको सुनाउनुभयो।

विज्ञप्तिमा उल्लेख गरिएको छ– ‘साचिक्कै पीडितलाई राहात र न्याय दिने हेतु थियो भने विगत २ वर्षदेखि यो पार्टीका नेताले के हेरी बस्नुभयो, विगत १० महिनाअघि नै उहाँको पार्टी सभापतिविरुद्ध परेको किटानी जाहेरीको विषयमा के हेरिरहनु भयो, किन कहिल्यै पीडित वचतकर्तासँग कुनै सरसल्लाह भएन त्यसैले अहिलेको यो प्रदर्शन र कार्यक्रमको कुनै औचित्य नभएको कुरा प्रस्ट छ र यो कार्यक्रम र अनुरोधको पनि समय र सन्दर्भ नमिलेको कुरा सबै पीडित जनतालाई छर्लङ्ग छ’ पीडितहरूले आज बिहीबार सहकारी ठगीको अनुसन्धान गर्दै दोषीलाई कारबाहीका लागि विरोध गर्ने भएको छ।

उक्त विरोधमा सहभागी भई समर्थन गरिदिन पीडितहरूले आग्रह गरेका छन्।

Source : https://newsofnepal.com/2024/10/24/674944/