सुनसान सुन बजार ! दीपावली आउन लाग्दा पनि व्यवसायीमा छैन उत्साह

सुनको भाउ लगातार बढेपछि जनकपुरधाममा गरगहनाको माग घट्दा बजार सुनसान देखिन थालेको छ । दशैँ, दीपावली र छठ पर्वको अवसरमा विशेष गरी बिक्री हुने सुनका गरगहना पसलहरु यसपटक भने प्रायः अत्यावश्यक बाहेकमा उपभोक्ताले खरिद नगरेको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।

दिनप्रतिदिन मूल्य बढेर तोलाकै १ लाख ६६ हजार नाघेपछि गरगहनाको माग घट्न पुगेको जनाइएको छ । महँगो मूल्यका कारण तिहार आउन लाग्दा पनि सुनचाँदी व्यवसायीमा उत्साह भने देखिएको छैन । सामान्य अवस्थामा तिहारमा सुनचाँदी धेरै बिक्री हुने गर्छ । विशेषगरी धनतेरसका दिन सुनचाँदी ठूलो परिमाणमा बिक्री हुने गरेको छ ।

तिहारकै लागि भनेर विभिन्न खाले नयाँ डिजाइनका गरगहना बनाएर राख्ने गरेका व्यवसायीहरू यसपालि माग नै नरहेको बताउन थालेका छन ्। सुनचाँदीको मूल्य निरन्तर उकालो लाग्दा कारोबार घट्दै गएको उनीहरु बताउँछन् । महँगो मूल्यका कारण गरगहनाको माग नरहेकै कारण तिहारका लागि भनेर खासै तयारी नगरेको सुनचाँदी व्यवसायीले बताउन थालेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेशका महासचिव मनिष रमण साहले तिहारका लागि विशेष तयारी गर्ने उत्साहजनक अवस्था नरहेको बताए । महासचिव साहले भने, ‘सुनको भाउ अत्यधिक महँगो भएका कारण गरगहना धेरै बनाइएको छैनौँ,’ उनले अघि थप्दँै भने, ‘सुनको मूल्य महँगिएपछि गरगहनाको माग घट्यो, तिहार आउन लाग्दा पनि व्यवसायीमा उत्साह नहुनुको कारण खस्कदो अर्थतन्त्र र महँगी नै हो ।’ धनतेरसको दिनचाहिँ कारोबार बढ्ला कि भन्ने उनको आश रहे पनि विगतका तिहारमा जस्तो कारोबार हुनेमा ढुक्क छैनन् ।

बजारमा माग नरहेका कारण बैंकहरूले एक महिनासम्म सुनको आयात नै गरेका छैनन् । सो अवधिमा बैंकमा रहेको १८० किलोग्राम सुन व्यवसायीले किनेका छन् । जबकि तिनै व्यवसायीले दैनिक १० किलोग्रामले माग नधान्ने भन्दै कोटा बढाएर २० किलो पु¥याउन लागेको थियो । बैंकसंग खरिद गरिएको सो सुन स्टकमै रहेको व्यवसायीहरुको भनाइ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेशका महासचिव साले सुन महँगो भएकोले तिहारमा राम्रो कारोबार हुने विश्वासमा तयारी गर्ने अवस्था आशाजनक छैन । स्थानीय सुनचाँदी व्यवसायी राजकुमार साहले भने, ‘महँगीका कारण ग्राहकले सुन खरिद गरिरहेका छैनन् । त्यसैले अहिले तिहारका लागि भनेर धेरै गरगहना बनाएर राख्ने अवस्था पनि छैन ।’ विगत वर्षमा दैनिक ४०/५० किलोग्रामसम्म खपत हुने गरेको सुन पछिल्लो पटक मूल्य आकासिन थालेसंगै दैनिक औसत २० किलोग्रामभन्दा कममा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । व्यवसायीहरूले तिहार लक्षित गरेर १०० किलोग्राम सुन आयात गर्न बैंकलाई भनिएको छ । तर यसबीचमा आफूहरूले सरकारले भन्सार दर घटाउँला भनेर आयातका लागि केही समय पर्खी रहेको महासंघले जनाएको छ ।

सुनको मूल्य भने गत वर्षको कार्तिकमा १ लाख १६ हजार रुपैयाँ रहेकोमा यस वर्षको कार्तिक महिनामा करिब ४० हजार रुपैयाँले वृद्धि भएको महासंघको विवरणमा जनाइएको छ । नेपाल राष्ट्र बैंकले यसै वर्षको भदौँ मसान्तमा सार्वजनिक गरेको देशको वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा गत वर्ष सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३४ प्रतिशतसम्मले बढेको उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनको गरगहना नेपाल–भारत सीमावर्ती क्षेत्रतर्फ सहजै रुपमा पाउन थालेपछि जनकपुरधामको बजार सुनसान देखिन थालेको छ । भारतमा नेपालभन्दा सस्तोमा सुन पाउन थालेपछि जनकपुरधाम हुँदै प्रायः उपभोक्ता सीमावर्ती क्षेत्रतर्फको बजारमा गएर सुनलगायतका गरगहनाहरु खरिद गर्ने गरेका कारण पनि त्यसको असर जनकपुरधामको सुन बजार परेको व्यवसायीहरुको भनाइ छ ।

नेपालमा सुनको मूल्यसंगै २० प्रतिशतले सरकारले कर लिइरहको छ भने सोही कर भारतमा भने ६ प्रतिशतले लिइरहेकाले भारततर्फ सुन नेपालभन्दा सस्तोमा बिक्री भइरहेको एक सुनचाँदी व्यवसायीले बताए ।

The post सुनसान सुन बजार ! दीपावली आउन लाग्दा पनि व्यवसायीमा छैन उत्साह appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/25/100250/