सोल्मा स्पोर्टस् क्लबलाई यू–१७ फुटबल प्रतियोगिताको उपाधि

खोटाङ । खोटाङको सोल्मा स्पोर्टस् क्लब (निलो) ले प्रथम सोल्मा यू–१७ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोल्मा स्पोर्टस् क्लबको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा दिक्तेल फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आयोजक टोलीले उपाधि हात पारेको हो ।

खेलको पहिलो हाफको ५ औं मिनेटमा प्रवीण तामाङले पहिलो गोल गरेका थिए । दोस्रो हाफमा गोलकिपर पास्कल बस्नेत र तिलक कार्कीले थप एक–एक गोल गर्दै उपाधि जिताएका थिए । विजेता टोलीले २५ हजार र उप–विजेताले १५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । व्यक्तिगत विधातर्फ सोल्मा निलोका तिलक कार्की उत्कृष्ट खेलाडी घोषित भए ।

कार्कीले २,२२२ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । अन्य विधागत पुरस्कार विजेताहरूले १,१११ रुपैयाँ नगद प्राप्त गरेका छन् । प्रवीण तामाङ सर्वाधिक गोलकर्ता, पास्कल बस्नेत उत्कृष्ट गोलकिपर, दिलीप राई उत्कृष्ट डिफेन्डर, आशिष राई उत्कृष्ट मिडफिल्डर र सनम राई उत्कृष्ट प्रशिक्षक घोषित भए ।

जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई (महेश) को उपस्थितिमा सबै विजेता खेलाडीहरुलाई पुरस्कार ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको जिल्ला फुटवल संघका अध्यक्ष एबम् स्पोर्टस् क्लबका अध्यक्ष धु्रवविक्रम राईले जानकारी दिए ।

The post सोल्मा स्पोर्टस् क्लबलाई यू–१७ फुटबल प्रतियोगिताको उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102578/