अमेरिकाले भन्यो : उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको बताउनुभएको छ ।

दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूलाई ३ हजार उत्तर कोरियाली सैनिकले त्यहाँ ड्रोन र अन्य उपकरणको तालिम लिइरहेको र युक्रेनको युद्धभूमिमा खटाइने तयारी भइरहेको जानकारी दिएलगत्तै उहाँले सो कुरा बताउनुभएको हो ।

रोम भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै अस्टिनले वासिङ्टन पोस्टले पोस्ट गरेको भिडियोअनुसार भन्नुभयो उनीहरूले ठ्याक्कै के गरिरहेका छन् ? त्यो हेर्न बाँकी छ ।

यी कुराहरू हामीले पत्ता लगाउनु पर्ने विषय हुन् । यदि ती सैनिकहरूले रुसको पक्षमा युद्धमा भाग लिए भने यो ‘धेरै गम्भीर मुद्दा हुनेछ भन्नुभयो ।

दक्षिण कोरियाली गुप्तचर निकायले यसै महिना रुसी नौसेनाले एक हजार पाँच सय उत्तर कोरियाली विशेष युद्ध सैनिकलाई रुस लगेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यसअघि १० हजार उत्तर कोरियाली सैनिकलाई रुसी आक्रमणकारी सेनामा सामेल हुन तयार पारिँदै गरेको गुप्तचर जानकारी आफ्नो सरकारसँग रहेको बताउनुभएको थियो ।

अमेरिका र नाटोले यसअघि उत्तर कोरियाको कथित सैनिक प्रेषणलाई औपचारिक रूपमा पुष्टि गरेका थिएनन् ।

तर यदि यो सत्य भएमा त्यस्तो विकासको खतराबारे चेतावनी दिएका थिए । रुस र उत्तर कोरियाले अहिलेसम्म सैनिक आवागमनको खण्डन गर्दै आएका छन् ।

युक्रेनी सैन्य गुप्तचर निर्देशनालयका प्रमुख किरिलो बुदानोभले युक्रेनी घुसपैठको सामना गरिरहेका रुसी सैनिकहरूलाई सहयोग गर्न उत्तर कोरियाली सैनिकहरू रुसको कुर्स्क क्षेत्रमा आइपुग्ने अनलाइन सैन्य समाचार आउटलेट द वार जोनलाई जानकारी दिनुभयो ।

पश्चिमसँग छुट्टाछुट्टै द्वन्द्वमा फसेका उत्तर कोरिया र रुसले विगत दुई वर्षमा आफ्नो सहकार्य तीव्र रूपमा बढाउँदै आएका छन् ।

उत्तर कोरियाले सन् २०२३ अगस्टदेखि रुसको घट्दो हतियार भण्डार पुनःपूर्ति गर्न १३ हजारभन्दा बढी कन्टेनर तोपखाना, क्षेप्यास्त्र र अन्य परम्परागत हतियारहरू रुसमा पठाएको एनआइएसले गत हप्ता बताएको थियो । उत्तरले रुसमा सैनिक पठाइरहेको रिपोर्टले दक्षिण कोरियामा सुरक्षा चिन्ता बढाएको छ ।

रुसले उत्तर कोरियालाई परिष्कृत हतियार प्रविधिहरू दिएर पुरस्कृत गरेर दक्षिण कोरियालाई लक्षित गर्ने उत्तरको आणविक र क्षेप्यास्त्र कार्यक्रमहरूलाई बढावा दिन सक्ने दक्षिण कोरियालीहरूले चिन्ता व्यक्त गरेका छन् ।

Source : https://www.khasokhas.com/211027