काली तर्न ट्युवको सहारा

डडेल्धुरा । भारतसँग सीमा जोडिएको भित्रिमधेशको जोगबुडा क्षेत्रको काली नदीमा पुल नहुँदा स्थानीय ट्युवमा वारपार गर्दै आइरहेका छन् । भित्रिमधेश क्षेत्र परशुराम नगरपालिका र भारतलाई जोड्न काली नदीमा पुल नहँुदा जोखिम मोलेर स्थानीय डुंङ्गाबाट वारपार गर्दै आइरहेका थिए । तर अहिले डुंङ्गा पनि संचालन नहुदा ट्युवबाट वारपार गर्नुपर्ने बाध्यता रहेको स्थानीय राम धामीले बताए ।

यस वर्ष डुंङ्गा संचालन गर्न ठेक्का लगाउन नसकिएको परशुराम नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडा अध्यक्ष खगेन्द्र सिंहले जानकारी दिए । डुंङ्गा संचालन हुन नसक्दा नेपालीहरुको महान पर्व दसैँका बेला घर फर्किने स्थानीयहरु लाई निकै सास्ति भएको स्थानीय महावीर चुनाराले गुनासो गरे । ट्युवबाट जोखिम मोलेर नदी तर्दा एक जनाको दुई सय रुपियाँ तिर्नु परेको उनको भनाई छ ।

जिल्लाको झण्डै आधा जनसंख्या रहेको भित्रिमधेश क्षेत्रका स्थानीय दैनिक उपभोग्य वस्तु खरिद गर्नसमेत भरतिय बजार ठूलीगाड, बुम, टनकपुर देखि बनवासासम्म पुग्ने गर्छन । कृषिउपजले भारतिय बजारमा राम्रो मूल्य पाउछ भने उपभोग्य वस्तुहरु सुफत मूल्यामा खरिद गर्न पाईन्छ । यस कारण परशुराम नगरपालिका–५,६ र ७ का स्थानीयहरु भारतिय बजार आउजाउ गर्ने गर्छन ।

काली नदी तरेर आउने भारतिय सिमा क्षेत्रमा कालोपत्रे सडक छ । औषधी उपचारका लागिसमेत भित्रिमधेशवासी भारतको खटिमा, बरेली बजारका अस्पतालमा पुग्ने गरेको वडा अध्यक्ष सिंहले बताए ।

परशुराम नगरपालिका–५ को परिगाउ स्थित महाकाली नदीको बांघाट र वडा नं. ६ को सिसमझालामा नदी तर्ने दुई वटा घाट छन । यी दुई वटा घाटबाट दैनिक सयौको संख्यामा स्थानीय महाकाली नदी वारपार गर्ने गर्दछन । रोजगारीको सिलशिलामा भारतका विभिन्न शहर पुग्ने भित्रिमधेशवासीहरु यही घाटबाट डुङ्गा तर्दै वारपार गर्दै आईरहनेका थिए । तर यसपाली डुंङ्गा संचालनमा ल्याउन नसक्दा ट्युवमाथी बसेर नदी तर्नु परेको स्थानीयको गुनासो छ ।

दुई वटै घाटमा डुङ्गा सञ्चालन गर्न वडा कार्यालयहरुले बढाबढी मोलमोलाई गरि ठेक्का सम्झौता गर्ने गरेका छन । डुंङ्गासमेत मर्मत गरिन लागेकाले यस वर्ष समयमै ठेक्का लगाउन नसकिएको वडा अध्यक्षको भनाई छ । तिहार अघि नै ठेक्का लगाई डुंङ्गा संचालनमा ल्याईने उनको भनाई छ । यी दुई वटा घाटमा यस अधिका वर्षहरुमा वार्षीक डेढ÷डेढ लाख रुपियाँका दरले डुङ्गा सञ्चालकलाई ठेक्का दिईएको उनले जानकारी दिए ।

स्थानीयहरु लाई आउजाउका साथै भारतको उत्तराखण्डमा रहेको पूर्णागिरि धाम र नेपाल तर्फको परशुराम धामका पर्यटक जोड्न महाकालीमा पुल आवश्यक छ । भगवान परशुरामले ध्यान र स्नान गरेको परशुरामधाममा माघे सक्रान्तिका दिन ठूलो मेला लाग्ने गर्दछ । सुदूरपश्चिम संगै नेपालका विभिन्न स्थानलगायत भारतबाट समेत ठूलो संख्यामा स्नान गर्नेहरु परशुरामधाम पुग्ने गर्दछन ।

सूर्य र चन्द्र ग्रहणका बेला समेत परशुराम धाममा स्नान गर्नेको भिड लाग्छ । यहाँका विभिन्न देवताको देउरोलाई समेत स्नान गर्ने धार्मिक प्रचलन रहिआएको परशुराम क्षेत्र विकास समिति पूर्व अध्यक्ष कैलाशकुमार पाण्डेयले बताए । तर महाकाली नदीमा पुल नहुदा आउजाउ गर्न समस्या हुने र सबै आस्थावानहरु आउन नसक्ने अवस्था रहेको उनले बताए ।

महाकालीमा पुल निर्माण भए स्थनीयलाई भारतिय बजार आउजाउगर्न सहज हुनुका साथै परशुराम धाममा धार्मिक पर्यटक बढ्ने आशा स्थानीयहरुको छ ।

महाकाली नदीमा पुल निर्माण अलपत्र
महाकालीको शिर्षमा पुल निर्माण गर्न भारतले गत वर्ष नै ठेक्का आह्वान गरेको थियो । डडेल्धुराको भित्रिमधेश जोगबुडा क्षेत्र परशुराम नगरपालिका–५ को शिर्ष अर्थात परिगाँउ स्थित महाकाली नदी माथि मोटेरेवल पुल निर्माणका लागि भारत सरकारले ठेक्का आह्वान गरेको थियो । तर हादसम्म पुल निर्माणको ठेक्का लाग्न सकेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा रहेको शिर्ष र बैतडीको झुलाघाटमा पुल बनाउने बताए पछि यी दईटै स्थानमा पुल निर्माण गर्न भारत सरकारले ठेक्का आह्वान गरेको थियो । शिर्षमा ४०० मिटर लामो दुई लेनको पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको हो ।

२०२३ जुलाई १३ तारिक अन्तिम विड गर्ने समय तोकेर सुचना जारी गरिएको थियो । सिंगल स्पामको ए क्लास लोडिङ्गको पुल निर्माणका लागि ठेक्का आह्वान भएको सुचना एसियनटेन्डर डट को डट ईन वेवसाईटमा छ । यस्तै बैतडीको झुलाघाट जोड्ने पुल ५०० मिटर लम्बाईको हुनेछ ।

भारतको उत्तराखण्ड प्रदेशको चम्पावत जिल्ला र नेपालको शीर्ष जोड्ने गरि पुल निर्माण गरिने उक्त सुचनामा जनाइएको थियो । ्

The post काली तर्न ट्युवको सहारा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102525/