गुण्डु बन्यो मखमली र सयपत्रीको हब

काठमाडौं ।

तिहारमा भाइटीकाको दिनमा दाजुभाइलाई लगाइदिने मखमली फूल ४० वर्षपछि चर्चामा आएको छ। सूर्यविनायक नगरपालिका–७ मा विगत ४० वर्षदेखि व्यावसायिक खेतीकै रूपमा गरिएको भए पनि स्थानीय सरकारको योजनामा परेपछि मात्र चर्चामा आएको हो ।

सूर्यविनायक नगरपालिका–७ गुण्डुका स्व. पहलमान नगरकोटीले झन्डै ४० वर्षअघि मखमली फूलको व्यावसायिक खेती शुरू गर्नुभएको तथ्य बाहिरिएको छ । आज उहाँले शुरू गर्नुभएको फूलखेती वडाकै नमुनारूपी व्यावसायिक खेतीका रूपमा विकास भएको छ।

भक्तपुरको गुण्डुलाई यति बेला मखमली र सयपत्रीलगायतका फूलखेतीले सुन्दरतासँगै दीर्घकालीन आयआर्जनमा समेत ठूलो टेवा दिएको छ । नगरकोटीको हातमा एकसुका नहुँदा छरछिमेकीले सापटीसम्म पत्याउँदैन थिए। आफ्नै मिहिनेत र परिश्रमबाट नगरकै नमुना काम गर्ने प्रशंसनीय व्यक्तिका रूपमा परिचित भए र वडालाई समेत गौरवान्वित बनाए। यो उदाहरणीय चर्चा स्वयम् नगरकोटीले भने सुन्न पाएनन्।

नगरकोटीकी श्रीमती देवकुमारी नगरकोटी भन्नुहुन्छ– ‘फूलखेती शुरू गरेसँगै उत्पादन भएका फूलहरू बिक्रीका लागि निकै दुःखकष्ट गर्दै भक्तपुर, काठमाडौंका पशुपति, चाबहिल, असन, इन्द्रचोकलगायतका क्षेत्रमा लैजाँदा केही स्थानीय व्यापारीले आफ्नो व्यापार घटाएको आरोप लगाउँदै लखेट्थे । तर, यस्तो अवस्थामा पनि श्रीमान्ले लुकीलुकी भए पनि फूल बेचेर गाउँ र समाजलाई नै फूल व्यवसाय गर्न सिकाउनुभयो । उहाँले आफूले मात्र फूल खेती नगरेर समाजलाई पनि गरे के हुन्न भन्दै फूलखेतीमा आकर्षित गर्नुभयो । आज उहाँकै देनले गर्दा सूर्यविनायक नगरपालिका वडा नं ७ का किसानहरूले फूलखेतीलाई आफ्नो आयआर्जनको मूल स्रोतका रूपमा अपनाउन सफल भएका छौं ।’

यति बेला सूर्यविनायकमा फूलखेतीले हरेक परिवारको आयआर्जन सहज भएको छ र स्वास्थ्य, शिक्षा, स्वरोजगारी, घरखर्च, विवाह, व्रतबन्ध, पूजा, चाडपर्व मनाउन पैसाको अभाव छैन र महिलाहरूले पनि श्रीमान् र छोराको कमाइ कुरेर बस्नुपर्ने अवस्था नभएको सफल फूल व्यवसायी तथा वडा स्तरीय अपाङ्ग समन्वय समितिकी अध्यक्ष तथा पहलमानकी छोरी उर्मिला नगरकोटी बताउनुहुन्छ ।

यतिबेला हरेक घरमा मखमलीको माला उन्ने चटारो छ । फूलखेतीमा निकै ख्याती कमाएको यो वडाले किसानलाई फूलखेतीतर्फ प्रोत्साहित गर्दै मखमली र सयपत्री फूलका बिरुवा ८० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको छ । टनेल खेतीका लागि प्लास्टिक, औजार, सिँचाइका लागि पानी, इनार खन्ने, बिउबिजन, हाते ट्याक्टर अनुदान तथा साझेदारीमा उपलब्ध गराउनुका साथै किसानलाई सहजताका लागि वडाकै साना किसान कृषि सहकारी संस्था गुण्डुसँग सहकार्य गरेकाले व्यवसायलाई निरन्तरता दिन अझ मद्दत मिलेको उर्मिला बताउनुहुन्छ ।

गुण्डुका बासिन्दालाई तिहारले झपक्कै छोपेको छ । हरेकका घरआँगनमा मखमली फूलका माला गाँस्ने भीड लागेको छ । फूल टिप्ने, माला गाँस्ने, एक्लाएक्लै र सामूहिक रूपमा समेत पालैपालो गरेर नभ्याउनेले प्रतिमाला ५ रुपियाँका दरले पारिश्रमिक दिएर माला गाँस्ने काममा हरेक घरमा मान्छेहरू व्यस्त छन् ।

एक जनाले एक दिनमा सय वटासम्म माला गाँस्ने गरेको नगरकोटी टोलमा फूल व्यवसायकै लागि जग्गा भाडामा लिएर बस्दै आएकी रामेछाप स्थायी घर भएकी संगीता कार्की बताउनुहुन्छ । उहाँले २ रोपनी जग्गा भाडामा लिएर फूल व्यवसाय र कुखुरा पालन व्यवसाय गर्नुभएको छ ।

जब फूल बेचेर पैसा आउँछ भन्ने गाउँ समाजले बुझे त्यसपछि धेरैले बुबाको सिको गर्दै फूल उत्पादन गर्ने र बेच्ने गर्न थालेको उर्मिलाले बताउनुभयो । एक सुकाबाट शुरू भएको मखमली फूलको मालाको मूल्य अहिले २० रुपियाँदेखि १ सय रुपियाँसम्म छ । बजार मूल्यमा एकरूपता छैन । बजार भाउ किसानले भन्दा बिचौलियाले लिन्छन् । जसले जतिमा सक्छ त्यतिमै बेच्छन् । नयाँ नयाँ प्रविधिको सदुपयोग गर्ने र नेपालीहरूसँग जनसम्पर्कमा रहेकाले स्वदेशमा मात्र नभई विदेशमा समेत मखमली फूलको व्यापार गर्छन्। मखमली फूलको व्यापार यही तिहार लक्षित हुने हुनाले गुण्डुमा असारदेखि नै फूल टिप्ने, माला बनाउने, सुकाउने र बजार पुर्‍याउने चटारोले कसैका हात खाली छैनन् ।

जमिन कम हुने तथा नहुनेले समेत गुण्डुलाई मखमली फूलको हब बनाई जमिन भाडामा लिएर फूल खेती गरेको देखिन्छ। फागुनमा बेर्ना राखी चैत्रमा रोपेपछि असारदेखि फूल्न थाल्छ । हप्तामा एकपटक फूल टिप्दै निरन्तर ४ महिनासम्म टिप्न मिल्छ। उर्मिलाको परिवारले डेढ रोपनी जमिनमा ७ देखि ८ हजार वटासम्म माला बनाउनुहुन्थ्यो । यो वर्ष पानी धेरै परेकाले फूल अलि कम भएको बताउनुभयो । उर्मिलाले भन्नुभयो– ‘व्यवसायका लागि नगरपालिका र वडाले निकै साथ दिएको छ । हाम्रो १० जनाको परिवार यही फूल खेतीबाटै खुसी र सुखी भएका छौं । मखमली ३ महिना त्यो पनि तिहार लक्षितमात्र हुन्छ भने सयपत्री १२ महिना फुलाउँछौं । सयपत्रीको माला, गुच्छा, बुकी बनाउन मिल्छ । हाम्रो परिवारले बुबाकै पेसालाई निरन्तरता दिँदै आएका छौं र यसैबाट उन्नति प्रगति भएको छ ।’

वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटा भन्नुहुन्छ– ‘फूलमा प्रसिद्ध वडा हो । फूललाई व्यावसायिक खेतीको रूपमा विकास गरी नगदे बालीको रूपमा विकास गर्ने योजना छ । बजारमा बिचौलियको चलखेल बढी छ । अब बजारमा एकदर ल्याउन बेर्ना दिएजस्तै बजारीकरणमा पनि हेर्नुपर्छ भनेर सहकारीलाई भनेका छौं । आम किसानसँग नगरपालिका सुखदुःखमा साथै रहन्छ । २०७५ सालदेखि बेर्ना अनुदान शुरू ग¥यो । यो वर्ष पनि १० लाख लागतमा बेर्ना उपलब्ध गरायौं ।’

कृषि तथा सानाकिसान सहकारी संस्था लिमिटेडका प्रबन्धक अजयमणि रिसाल भन्नुहुन्छ– ‘मखमली फूलबाटै आयस्रोतको आधार बनाई सुका मोहोरबाट शुरू गरी घरबाटै माला उन्दाउन्दै २० देखि २५ रुपियाँसम्ममा बिक्री गर्दै छन् । यो सहकारीले अहिले किसानको लागत घटाउन सरकारबाट राहत दिलाउन नगरसँग समन्वय गरी विगत ५ वर्षदेखि बेर्ना उत्पादन गरी ४ सय २८ कृषकलाई ८० प्रतिशत अनुदानमा वडाले उपलब्ध गराउँदै आएको छ ।’

Source : https://newsofnepal.com/2024/10/21/674420/